धादिङको जंगलमा रुखको लहराले बाँधेको अवस्थामा फेला पर्यो कंकाल, वैशाखदेखि हराएका मिस्टर कुमालको भएको पुष्टि

धादिङको जंगलमा रुखको लहराले बाँधेको अवस्थामा फेला पर्यो कंकाल, वैशाखदेखि हराएका मिस्टर कुमालको भएको पुष्टि
फाइल तस्बिर

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका-९ स्थित पाख्रीखोला जङ्गलमा एक पुरुषको सडेगलेको शव फेला परेको छ।

उक्त शव वैशाख ८ गतेदेखि बेपत्ता भएका नीलकण्ठ नगरपालिका-१२ बस्ने ५० वर्षीय मिस्टर कुमालको रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान अन्दाजी ५ बजे स्थानीय सातदोबाटो बस्ने ३५ वर्षीय गोपाल श्रेष्ठले जङ्गलमा मानव अङ्ग सडेगलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धादिङबाट करिब ८-९ किलोमिटर उत्तर-पश्चिम पर्ने उक्त जङ्गलमा कटुसको रुखको फेदमा शव सडेगलेको र कम्मर तथा करङको हड्डी मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो।

घटनास्थलमा मृतकले लगाएको पाइन्ट, एक जोर चप्पल, एउटा क्याप (टोपी) र सोही रुखमा जङ्गली लहराले बाँधिएको अवस्थामा एउटा ज्याकेट फेला परेको प्रहरीले जनाएको छ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक प्रकाश दुवेको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो।

बिहान करिब ८ बजे मृतकका २२ वर्षीय छोरा दीपेन्द्र कुमालले घटनास्थल पुगेर कपडा र अन्य सामानका आधारमा शव आफ्ना बुबाको भएको पहिचान गरेका हुन्।

मिस्टर कुमाल गत वैशाख ८ गतेदेखि हराइरहेका थिए र उनको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा हुलियासहितको निवेदन दिएको थियो।

प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम गराएको छ। पोस्टमार्टम पश्चात् दिउँसो बजे मृतकको शव छोरा दीपेन्द्रलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

जेठ २५, २०८३ सोमबार ११:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।