भारतमा जेनजीको भद्र आन्दोलन : 'गोली' नि चलेन, 'संसद्' नि जलेन
काठमाडौं : कक्रोच जनता पार्टीको नाममा भारतको नयाँ दिल्लीमा शनिवार जेनजी पुस्ताले आन्दोलन गरे। हालै भएको पेपरलिक प्रकरणमा जोडिएका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै भएको आन्दोलन शान्तिपूर्ण भयो।
नेपालमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा जस्तो न प्रदर्शनकारी उग्र भएर सुरक्षाकर्मीको ब्यारिकेट तोड्ने प्रयास गरे न संसद् भवन जलाउने प्रयासै गरे। भारतको जेनजी प्रदर्शनमा गोली पनि चलेन कुनै सरकारी र सार्वजनिक संरचना पनि जलेन।
नेपालमा भएको जेनजी आन्दोलन र दिल्लीको कक्रोच आन्दोलनबीच हिंसात्मक घटना बाहेक अन्य केही समानता देखियो।
नेपाल र भारत दुबैतिर आन्दोलनको प्रारम्भ सामाजिक सञ्जालबाट भएको थियो। भारतमा पेपर लिक प्रकरण मुद्दा बन्यो भने नेपालमा सामाजिक सञ्जाल बन्दको आक्रोशमा नेपोबेबी र जबाफदेहिताको माग सुरु भएको थियो।
भारतमा अभियन्ता र नेतृत्वको रूपमा अभिजित दिपके देखिए। नेपालमा भएको आन्दोलनमा रक्षा बम,मिराज ढुंगाना लगायतको नाम आए पनि नेतृत्वकर्ता खुलेका थिएनन्।
यता पनि प्रदर्शनकारीले हातमा गुलाफको फुल लिएर आन्दोलनको प्रारम्भ गरेका थिए, दिल्लीमा पनि त्यही देखियो। नेपालमा काला मास्क लगाएका,हेल्मेट लगाएका बाइकर्स र सुधन गुरुङसहितका शंकास्पद भोलेन्टियर देखिएका थिए।
दिल्लीको प्रदर्शनमा पनि कक्रोचको मास्क लगाएका, कोही स्पाइडरम्यानको कपडा लगाएर अनुहार छोपेकाहरू देखिएका थिए।
प्रदर्शनका लागि १० देखि ५ बजेसम्मको समय तोकियो। सुरक्षाकर्मीको संख्या बाक्लो बनाइयो,ब्यारिकेट राखियो। तर कसैले ब्यारिकेट तोड्ने वा सुरक्षाकर्मीसँग भिड्ने व्यवहार गरेनन्। तोकिएकै समयमा आन्दोलन सकाए। अप्रिय घटना केही भएन।
नेपालमा पनि शान्तिपूर्ण आन्दोलन भनिए पनि पछि आन्दोलन उग्र भएर प्रहरीमाथि आक्रमण,ब्यारिकेट तोड्ने हुँदै संसद् भवनको पर्खाल प्वाल पारेर भित्र छिर्नेसम्मको घटना भए।
कर्फ्यु लाग्यो, गोली चल्यो अनि एकै दिन १९ जना मारिए। पहिलो दिनको आक्रोशसँगै मिसिएको समूहले सरकारी,सार्वजनिक र निजी सम्पत्ति ध्वस्त बनाए। उच्च हिंसाका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो। पहिलो दिनको दिल्ली आन्दोलन आयोजकको वाचा अनुसारै शान्तिपूर्ण भयो।
अभिजितले सामाजिक सञ्जालमा भारतको जेनजी नेपाल अनि बङ्गलादेशको जस्तो नभएको लेखेपछि नेपालबाट खुब आलोचना भएको थियो। तर उनले शनिवार शान्तिपूर्ण आन्दोलन गरेर व्यवहारबाटै पुष्टि गरे।
सर्त सहितको स्वीकृति
जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि दिल्ली प्रहरीबाट अनुमति पाएपछि प्रदर्शनमा सहभागी हुन मिमको रूपमा सञ्जालमा कक्रोच जनता पार्टी सुरु गरेका अभिजित दिपके अमेरिकाबाट भारत आएका थिए।
उनी दिल्ली विमानस्थलमा ओर्लिदा सुरक्षाकर्मीले पक्राउ गर्ने आशंका गरिए पनि त्यस्तो धरपकड केही भएन। उनी सहजै जन्तरमन्तरमा गएर प्रदर्शनमा सहभागी भए।
भारतमा हालै निट परीक्षा र सिबिएसमा भएको अनियमिततामा संलग्नमाथि कार्वाहीको माग भइरहेको छ। तर सरकारले मागको वास्ता गरेको छैन। त्यसकै विरोधमा अनलाइन विरोध सुरु भयो। तर सरकारले वास्ता गरेन। त्यसको विरोधमा कक्रोच जनता पार्टीको नाममा अनलाइन विरोध सुरु भयो। अनलाइन विरोध शनिवार अफलाइनमा आयो।
जन्तरमन्तरको विरोध सभामा संस्थापक दिपकेले एक महिनासम्म अनलाइन अभियान मार्फत कार्वाहीको माग गर्दा सुनुवाइ नभएपछि आफूहरू सडकमा आएको र पेपर लिक सहितको घटनामा संलग्नहरू माथि कार्वाही नभएसम्म आन्दोलन नरोकिने बताए।
जेठ २३, २०८३ शनिबार १८:२५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।