दिल्लीमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन : शिक्षामन्त्रीले ५ बजेभित्र राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउने अभिजीत दिपकेको चेतावनी

दिल्लीमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन : शिक्षामन्त्रीले ५ बजेभित्र राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउने अभिजीत दिपकेको चेतावनी

एजेन्सी :  भारतको केन्द्रीय शैक्षिक प्रणालीमा देखिएका अनियमितता र परीक्षाका प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर नयाँ दिल्लीको जन्तरमन्तरमा शनिबार युवा तथा विद्यार्थीहरूले विशाल विरोध प्रदर्शन गरेका छन्। नयाँ पुस्ता लक्षित राजनीतिक समूह 'कक्रोच जनता पार्टी' (सीजेपी) का संस्थापक अभिजीत दिपकेको नेतृत्वमा उक्त प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका छन्। शनिबार बिहान मात्र अमेरिकाबाट भारत आइपुगेका ३० वर्षीय अभिजीत दिपकेले शनिबार साँझ ५ बजेसम्म शिक्षामन्त्रीले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका थिए। परीक्षामा भएको गम्भीर धाँधलीकै कारण पाँच जना विद्यार्थीले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै उनले शिक्षामन्त्रीले तत्काल पद छोड्नुपर्ने माग गरे। यद्यपि, यसबारे सरकारको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

किन भइरहेको छ प्रदर्शन?

'नीट-यूजी २०२६' को प्रश्नपत्र बाहिरिएको प्रकरण र केन्द्रीय माध्यमिक शिक्षा बोर्डको कक्षा १२ को उत्तरपुस्तिका मूल्याङ्कन तथा पुनर्मूल्याङ्कनमा प्रयोग गरिएको 'अन-स्क्रिन मार्किङ' प्रणालीमा गम्भीर त्रुटिहरू भेटिएपछि शिक्षा मन्त्रालय र मन्त्री धर्मेन्द्र प्रधानको चौतर्फी आलोचना भइरहेको छ। प्रदर्शनकारीहरूले लाखौँ युवाहरूको भविष्यमाथि खेलबाड गरिएको भन्दै राजनीतिक जवाफदेहिताको माग गरेका छन्।

सोनाम वाङचुक पनि आन्दोलनमा सहभागी

लद्दाखका वातावरण तथा शिक्षा अभियन्ता सोनाम वाङचुक पनि जन्तरमन्तर पुगेर उक्त प्रदर्शनमा सहभागी भएका छन्। लद्दाखको स्वायत्तताका लागि भएको आन्दोलनका क्रममा गत सेप्टेम्बरमा पक्राउ परी ६ महिना हिरासतमा बसेर भर्खरै रिहा भएका वाङचुकले शिक्षामन्त्रीको राजीनामाको माग सुरुवात मात्र भएको बताए।

सामाजिक सञ्जालमा भिडियो जारी गर्दै वाङचुकले भने, "कुनै पनि आत्मसम्मान भएको मन्त्रीले यति ठूलो गल्ती भएपछि राजीनामा दिनुपर्छ। विगत चार दशकदेखि मैले दुर्गम क्षेत्रका सरकारी विद्यालयको शिक्षा सुधारका लागि प्रयास गरिरहेको छु, तर परिस्थिति नफेरिएपछि म आफैँ यो आन्दोलनमा जोडिन आइपुगेको हुँ।" 

के हो 'कक्रोचजनता पार्टी'?

गत महिना भारतका प्रधानन्यायाधीशले एक अदालती बहसका क्रममा प्रणालीको आलोचना गर्ने युवाहरूको तुलना 'कक्रोच' (साङ्लो) र 'परजीवी' सँग गरेका थिए। सोही टिप्पणीमाथि असन्तुष्टि जनाउँदै  सुरु भएको यो समूह छोटो समयमै एउटा सङ्गठित युवा अभियानमा परिणत भएको हो।

'युवाका लागि, युवाद्वारा, युवाकै राजनीतिक मोर्चा' भन्ने नाराका साथ अघि बढेको यस दलको इन्स्टाग्राम अकाउन्टमा मात्रै २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगिसकेका छन्।

आन्दोलनलाई मध्यनजर गर्दै दिल्ली पुलिसले जन्तरमन्तर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ भने कतिपय प्रदर्शनकारीहरूलाई नियन्त्रणमा समेत लिइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जेठ २३, २०८३ शनिबार १७:१७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।