मानवअधिकार उल्लंघनमा कांग्रेसकै मानिस संलग्न भए पनि कारबाही हुनुपर्छ : गगन थापा

मानवअधिकार उल्लंघनमा कांग्रेसकै मानिस संलग्न भए पनि कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले जेन-जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनामा राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

पार्टी कार्यालय सानेपामा आयोजित ग्रिन टेबल कार्यक्रममा बोल्दै उनले मानवअधिकार उल्लंघनका घटनालाई सामान्यीकरण गर्न नहुने बताए।

सभापति थापाले भदौ २३ र २४ गते भएका घटनामा आफ्नै पार्टीका नेता वा कार्यकर्ता संलग्न पाइए पनि कारबाही हुनुपर्ने र यसमा कांग्रेसले दोहोरो मापदण्ड नअपनाउने स्पष्ट पारे।

सरकारले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा पूर्वाग्रह देखाएको र भदौ २४ को घटना अध्ययन गर्न अर्को आयोग बनाउने प्रतिबद्धता पूरा नगरेको आरोप उनले लगाए।

कार्यक्रममा मानवअधिकार आयोगकी सदस्य डा. लिली थापाले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा मानवअधिकार उल्लंघनलाई सामान्य ठान्ने प्रवृत्ति बढेको बताइन्।

भदौ २३ र २४ को घटना सुशासनको चाहना र तत्कालीन सरकारको रवैयाका कारण मात्र नभई केही व्यक्ति र समूहको योजनाबद्ध घुसपैठ र उक्साहटका कारण हिंसात्मक बनेको उनको भनाइ छ।

युवाहरूलाई बम बनाउन सिकाउने र उक्साउने तत्वहरूमाथि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको उनले जानकारी दिइन्।

यसैगरी, कांग्रेस नेतृ एवं आयोगकी पूर्व सदस्य मोहना अन्सारीले आन्तरिक रूपमा सिफारिस कार्यान्वयनमा बेवास्ता गरिए पनि अन्तर्राष्ट्रिय नियोगहरूमार्फत दोषीहरू ढिलोचाँडो कारबाहीको दायरामा आउने दाबी गरिन्।

जेठ २३, २०८३ शनिबार ११:२१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।