फ्लप फिल्ममै सौगातको ह्याट्रिक, कहिले चल्ला जादु ?
काठमाडौं : अभिनेता सौगात मल्लको अभिनय कौशलको चर्चा जति हुन्छ, व्यावसायिक रूपमा उनका फिल्मले उति नै असफलता भोगिरहेका छन्। पछिल्लो समय सौगातले अभिनय गरेका फिल्मले न त हलमा दर्शक तान्न सकेका छन्, न निर्माताको लगानी नै सुरक्षित गर्न।
उनमाथिको लगानी बालुवामा पानी जस्तै बन्न पुगेको देखिन्छ। गत तीन वर्षयता हलमा रिलिज भएका सौगातका फिल्महरूको सूची हेर्ने हो भने अधिकांशको व्यापारिक अवस्था निराशाजनक देखिन्छ।
‘हात्तीछाप’, ‘अगस्त्यः च्याप्टर १’ र ‘द रेड सुटकेस’ जस्ता फिल्मले बक्स अफिसमा निकै कमजोर प्रदर्शन गरे। २०८१ पुस ५ गते प्रदर्शनमा आएको ‘बमबहादुर’ र वैशाख २६ मा रिलिज भएको ‘जार’ कहिले हलमा लागे र कहिले उत्रिए भन्ने दर्शकले पत्तो समेत पाएनन्।
चैत २९ गते प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ले भने सौगातलाई केही राहत दियो। यद्यपि, यसमा उनको भूमिका १५ मिनेटको मात्र थियो। यस फिल्मले लगानी उठाएको दाबी गरिए पनि सौगातको मुख्य भूमिका रहेका अन्य फिल्मको अवस्था भने दयनीय नै छ। व्यापारिक हिसाबले हेर्दा महँगा पारिश्रमिक लिने कलाकार र फिल्मको आम्दानीबीच तालमेल देखिँदैन।
त्यसैगरी जेठ २३ मा प्रदर्शन भएको ‘जन्ते बाख्रो’, साउन २३ को ‘सिटामोल’ र असोज १३ मा रिलिज भएको ‘बलिदान’को व्यावसायिक अवस्था पनि उस्तै रह्यो। ‘बलिदान’का निर्माताले त अझैसम्म प्राविधिकहरूको पारिश्रमिक समेत चुक्ता गर्न नसकेको बताइन्छ।
माघ १ गते प्रदर्शनमा आएको ‘भाइरल गोर्खे’ सौगातको करियरको अर्को कमजोर फिल्म सावित भयो। चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार यो फिल्मले देशभरबाट मात्र ३५ लाख ९७ हजार रुपैयाँ संकलन गरेको छ। हाल प्रदर्शनरत फिल्म ‘मितज्यू’को अवस्था पनि उत्साहजनक छैन। पछिल्लो तथ्याङ्कअनुसार यसले करिब एक करोड २० लाख हाराहारी मात्रै कलेक्सन गरेको छ।
दुई वर्षयताका फिल्मलाई हेर्दा सौगातले न फिल्मको कथा छनोटमा ध्यान दिएको देखिन्छ, न त उनका फिल्मले निर्मातालाई फाइदा नै पुर्याएका छन्। फिल्महरू धमाधम फ्लप भइरहँदा पनि उनी भने नयाँ काममा उत्तिकै व्यस्त छन्। यतिबेला उनी ‘जुवा’ नामक फिल्मको छायांकनमा व्यस्त छन्।
एकपछि अर्को फिल्म व्यावसायिक रूपमा असफल भइरहँदा सौगातले अब कथा छनोट र गुणस्तरमा गम्भीर हुनुपर्ने देखिन्छ। अन्यथा संख्या बढाउन र पारिश्रमिकका लागि मात्र फिल्म खेल्ने प्रवृत्तिले उनी जस्तो सक्षम कलाकारलाई व्यावसायिक रूपमा असफल अभिनेताको सूचीमा सीमित गरिदिने जोखिम बढेको छ।
जेठ २२, २०८३ शुक्रबार १७:२५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।