लुम्बिनीको राजनीति : मुख्यमन्त्री जो बनोस्, दुई सिटे भण्डारीलाल मन्त्री पक्का !
बुटवल : लुम्बिनी प्रदेशको सत्ता राजनीतिमा एउटा यस्तो नाम छ, जो सरकार परिवर्तनको जोडघटाउ चल्दा कहिल्यै ‘प्लस-माइनस’को मारमा पर्दैनन्।
मुख्यमन्त्रीको कुर्सी फेरिन्छ, सत्ताको जग हल्लिन्छ र गठबन्धनका साझेदारहरू बदलिन्छन्, तर उनी सधैँ मन्त्रीकै कुर्सीमा सुरक्षित रहन्छन्। उनी हुन्- भण्डारीलाल अहिर।
बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का यी सांसद लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा एउटा दुर्लभ कीर्तिमानको केन्द्रमा छन्।
दोस्रो कार्यकालको चार वर्ष पनि पूरा नहुँदै उनी चौथो पटक मन्त्रीका रूपमा शपथ लिइरहेका छन्। लुम्बिनीको सत्ता राजनीतिमा उनी यस्ता ‘सदाबहार सारथी’ बनेका छन्, जसको आवश्यकता हरेक मुख्यमन्त्रीलाई पर्ने गर्दछ।
गाउँपालिका पराजयदेखि प्रदेशको मन्त्रीसम्म
अहिरको राजनीतिक यात्राको पृष्ठभूमि नियाल्ने हो भने उनी सुरुदेखि रैथाने नेता होइनन्।
बाँकेको डुडुवा गाउँपालिका-३ निवासी अहिरले आफ्नो जीवनको ऊर्जाशील २५ वर्ष प्राथमिक विद्यालयको स्थायी शिक्षकका रूपमा बिताए। शिक्षक सेवाबाट निवृत्त भएपछि मात्र उनले सक्रिय राजनीतिमा पाइला टेकेका हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा आफ्नै वडाबाट वडाध्यक्ष बनेका अहिरको महत्त्वाकांक्षा २०७९ मा गाउँपालिका अध्यक्ष बन्ने थियो। तर, उनी झिनो मतान्तरले पराजित भए।
स्थानीय तहमा लागेको धक्का उनको राजनीतिक यात्राका लागि प्रत्युत्पादक बनेन, बरु प्रदेश सभातर्फको ढोका खोलिदिने माध्यम बन्यो।
तत्कालीन जसपा नेपालले उनलाई प्रदेश सभाको टिकट दियो र उनले एमालेका स्थापित उम्मेदवार विजयबहादुर यादवलाई पराजित गर्दै विधायकी यात्रा सुरु गरे। गाउँपालिकामा व्यहोरेको पराजय नै उनको लागि मन्त्री बन्ने सोझो बाटो बन्न पुग्यो।
समीकरण जस्तोसुकै होस्, मन्त्री पद सुरक्षित
लुम्बिनी प्रदेश सभाको अङ्कगणित र समीकरण यति द्रुत गतिमा बदलिन्छ कि कतिपय मन्त्रीले आफ्नो कार्यकक्षको नेमप्लेटसमेत राम्रोसँग पढ्न पाउँदैनन्। तर, अहिरका लागि भने मन्त्रालयको ढोका सधैँ खुला रह्यो।
२०७९ को प्रदेश सभा निर्वाचनपछि एमालेका लीला गिरी मुख्यमन्त्री बन्दा अहिर पहिलोपटक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बने।
गिरी नेतृत्वको सरकार छोटो समयमै ढलेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा नयाँ सरकार बन्यो। सत्ता परिवर्तन भए पनि अहिरले सोही मन्त्रालयमा निरन्तरता पाए।
चौधरी सरकार विस्थापन भई माओवादी केन्द्रका जोखबहादुर महराको नेतृत्वमा नयाँ समीकरण बन्दा पनि अहिरले पुनः कृषि मन्त्रीकै रूपमा निरन्तरता पाए।
हाल एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। सुरुमा जसपाबाट आदेशकुमार अग्रवाल मन्त्री बनेका थिए। तर, सत्ता राजनीतिमा कुशल खेलाडी मानिने अहिरले बुधबार अग्रवाललाई बिदा गराउँदै मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो स्थान सुरक्षित गराएरै छाडे।
यसपटक भने उनले कृषि मन्त्रालयको साटो शक्तिशाली मानिने आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी हत्याएका छन्।
पार्टी फुट्दा पनि रुट बलियो
केन्द्रमा उपेन्द्र यादव र अशोक राई (जसलाई लुम्बिनीमा मोहम्मद इस्तियाक राई पक्ष पनि भनिन्छ) बीचको मतभेदका कारण जसपा विभाजित हुँदा अहिरले राई समूह रोजे।
८७ सदस्यीय प्रदेश सभामा हाल ८३ सांसद बहाल छन्, जहाँ सरकार बनाउन ४४ सिट आवश्यक पर्छ। एमाले (२९) र कांग्रेस (२७) को बलियो उपस्थिति रहेको लुम्बिनीमा राई समूहसँग केवल दुई सांसद छन्- अहिर र आदेशकुमार अग्रवाल।
नेता इस्तियाक राई स्वयं एमालेको चुनाव चिह्नबाट निर्वाचित भएका कारण अहिरको सम्बन्ध एमालेसँग राजनीतिक रूपमा निकै कसिलो मानिन्छ।
यही रणनीतिक सम्बन्ध र दलीय समीकरणको सन्तुलनका कारण केवल दुई सांसद भएको दलका अहिर लुम्बिनीमा सधैँ ‘किङमेकर’का रूपमा रहँदै आएका छन्।
‘केन्द्रको निर्देशनले मन्त्री बनेको हुँ’
देख्दा सामान्य, सादगी र सरल जीवनशैलीका अहिर आफू मन्त्री पदको भोको नभएको दाबी गर्छन्।
उनी उकेरासँग भन्छन्, ‘मैले मन्त्री बन्नैपर्छ भनेर कहिल्यै दौडधुप गरेको छैन। यो सबै केन्द्रको निर्देशन र पार्टीको निर्णयअनुसार भएको हो। म धेरै पटक मन्त्री बनेको देखिए पनि काम गर्ने समय भने निकै कम पाएको छु।’
आफू किसानको छोरो भएकाले विगतमा कृषि मन्त्रालय सम्हाल्दा प्रदेशका किसानका लागि मल र बीउको व्यवस्थापन गर्न र गृहजिल्ला बाँकेको डुडुवा क्षेत्रमा हुने डुबान तथा कटानको समस्या समाधान गर्न धेरै प्रयास गरेको उनको दाबी छ।
यसपटक आन्तरिक मामिला (गृह) मन्त्रालयको जिम्मेवारी पाएका अहिरले यस क्षेत्रमा जनतासँग प्रत्यक्ष जोडिने भन्दा पनि नीतिगत सुधारका कामहरू गर्ने ठाउँमा आफू आइपुगेको बताए।
जेठ २२, २०८३ शुक्रबार ०९:५८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।