ज्ञानेन्द्रको नाम लिएर वालेन्द्रतिर देउवाको निशाना
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारको पाँच महिना लामो बसाई सक्काएर स्वदेश फर्किएकै दिन आफूलाई अक्षम भन्दै सत्ताच्युत गर्ने राजा ज्ञानेन्द्र शाह सम्झिए।
विमानस्थलबाट समर्थकको स्वागतबाट हौसिएका उनले भारतबाट स्वदेश फर्कँदा वीपी कोइरालाकै ‘मेलमिलापको नीति’बारे त बोले तर व्यवहारमा भने उनी पार्टीको दुई गुटमध्ये एक गुटको कार्यालयको बार्दलीमा बसेर गुटलाई मलजल गरे।
पाँच महिना अगाडि मतदान समेत नगरी उपचार भनेर श्रीमती आरजु राणासँगै सिंगापुर गएका उनी नेपालमा राजनीतिक नेतृत्व बदलिएसँगै हङकङमा बसाइँ सरेका थिए। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रेडकर्नर नोटिस जारी गर्नेदेखि लिएर पक्राउ पुर्जीसम्मको प्रकरणपछिको जोखिम विदेशमै बसेर छलेका उनी स्वदेश फर्कँदा श्रीमती साथमा थिइनन्।
विमानस्थलबाट शक्ति प्रदर्शन गर्दै चुनदेवीमा रहेको संस्थापन इतर समूहको सम्पर्क कार्यालय पुगेका उनले आक्रोशित हुँदै भने “राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ।” उनको आक्रोशको कारण थियो उही सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानकोक्रममा उनलाई पक्राउ परेर नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर जारी गर्ने प्रयास।
इन्टरपोल प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन हो। तर देउवाले यसलाई अन्तर्राष्ट्रिय कोर्ट भने जुन गलत थियो। उनले भने ‘मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले। त्यसपछि कोर्टले कुनै पनि हालतमा शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन भन्यो। यहीँ पनि मुद्दा हाल्यो। फटाहा छन् यहाँ।” उनले यही प्रशंगमा ल्याएर माघ १९ अगाडि आफूलाई अपदस्थ गर्ने ज्ञानेन्द्रको प्रशंग जोडेका थिए।
उनले बिहीबारै पार्टीमा मेलमिलापको सन्देशसहित अपिल जारी गरे। तर उनी फर्कँदाको व्यवहार भने उनको अपिल भन्दा भिन्न देखियो। उनको सचिवालयमार्फत जारी गरिएको वक्तव्यमा पद र शक्तिको आकांक्षीभन्दा पनि ‘महान् राष्ट्रको आजीवन नागरिक’ का रूपमा फर्किएको उल्लेख छ।
तर जाने बेलामा उनी पार्टीभित्रको दुई गुटमध्ये एक संस्थापनइतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा गए। त्यहाँ उनलाई पार्टी सभापतिको रूपमा प्रस्तुत गरियो र सोही अनुसार नेमप्लेट राखियो।
उनले बार्दलीबाट ज्ञानेन्द्र भन्दै वालेन्द्रमाथि प्रहार गरे। उनी विरुद्ध जिल्ला अदालत काठमाडौँले जारी गरेको पक्राउ पुर्जी सर्वोच्चले खारेज गर्दा कानुन संशोधन भएर सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतको क्षेत्राधिकारमा गएको भन्दै जिल्ला अदालतको पुर्जी खारेज गरेको थियो। यसबाट सम्पत्ति शुद्धीकरण विभागले चाहेको अवस्थामा विशेषबाट पुर्जी जारीको अनुमति माग्ने कानुनी बाटो रोकिएको छैन।
यसलाई उनले अदालतको आदेशलाई उल्लंघन गर्दै ‘बदमासी’ गरिएको भन्दै सरकारलाई ‘भोलिदेखि देखाएर छाड्ने’ चेतावनी दिए।
२०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको साङ्घातिक आक्रमणपछि देउवाको राजनीतिक सक्रियतामा ठूलो धक्का लागेको थियो। त्यस लगत्तै भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवाले औपचारिक रूपमा पार्टीको शीर्ष कार्यकारी पद गुमाएका थिए।
निर्वाचनमा उम्मेदवार बन्न टिकट नपाएपछि नेपाली नागरिकको रूपमा प्रयोग गर्ने मताधिकार समेत प्रयोग नगरी उनी बिदेसिएका थिए। अहिले उनी पार्टी सभापति छैनन्। सर्वोच्च अदालतले विशेष महाधिवेशनको वैधानिकताको कानुनी परीक्षणको बाटो खोलिसकेको छ।
इतर समूहका नेताहरूले देउवालाई अभिभावकका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय भेला गर्दैछ। सो समूहले पार्टीको तितरबितर भएको पङ्क्तिलाई एकताबद्ध गर्ने दाबी गरेका छन्। तर, गगन थापा नेतृत्वको कार्यसमिति बिहीबारको पार्टी बैठकमा पार्टीको १५ औँ महाधिवेशन तोकिएकै मितिमा गर्न छलफल अगाडि बढाएको छ। यसले मुखमा मेलमिलाप भए पनि व्यवहारमा भने धुर्विकरण थप चर्किने संकेत देखिएको छ।
साउन २८, २०८३ बिहीबार २१:४९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।