डा. देवकोटा र डा. शर्मा अतिरिक्त सचिवका लागि बढुवा सिफारिस
काठमाडौं : स्वास्थ्य सेवाको १२औँ तहको अतिरिक्त स्वास्थ्य सचिवमा बढुवाका लागि सिफारिस समितिले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्मा गरी स्वास्थ्य सेवाका ११औँ तहका दुई जना चिकित्सकको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको छ।
सोमबार साँझ बसेको समिति बैठकले रिक्त एउटा पदमा बढुवाका लागि आवेदकमध्ये दुई जना चिकित्सकको नाम सिफारिस गरेको हो। यी दुईमध्ये एक जनालाई सरकारले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्ने करिब निश्चित छ।
यी दुई चिकित्सकको नाम सोमबार नै सिफारिस भए पनि मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा त्यो फाइल पठाइयो की पठाइएन भन्ने खुलेन। किनकि सोमबार बसेको मन्त्रीपरिषद्ले यो विषयमा निर्णय गरेको देखिएन।
त्यसैले कुनै समस्या नभए अब बस्ने मन्त्रीपरिषद्को बैठकले यी दुईमध्ये एकलाई स्वास्थ्यको अतिरिक्त सचिवमा बढुवाको निर्णय गर्न सक्ने देखिएको छ। बढुवाका लागि आवेदन दिएका १४ कर्मचारीमध्ये डा. देवकोटा र डा. शर्मालाई छनोट गरेर बढुवा सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा- २५ मा स्वास्थ्य सेवाको अधिकृत तहको पदमा बढुवाको लागि सिफारिस समिति रहने व्यवस्था छ। लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य बढुवाका लागि सिफारिस समितिको अध्यक्ष रहने व्यवस्था छ।
त्यसैगरी लोक सेवा आयोगको अध्यक्षले तोकेको लोक सेवा आयोगको सदस्य, मुख्य सचिव र लोक सेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयको विशेषज्ञ सदस्य र स्वास्थ्य मन्त्रालयको बढुवाका लागि सिफारिस समितिको सदस्य-सचिव हुने व्यवस्था छ।
ऐनको दफा २५ को उपदफा (२) मा १२औँ तहको पदमा बढुवा गर्न बढुवा समितिले उपलब्ध भएसम्म रिक्त पदको कम्तीमा पचास प्रतिशत थप उम्मेदवारलाई कार्य सम्पादन क्षमताको आधारमा सिफारिस गर्ने र त्यही सिफारिस गरिएका उम्मेदवारहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्य कुशलताको आधारमा ठहर्याएको उम्मेदवारलाई बढुवा गर्ने प्रावधान छ।
यही प्रावधानअनुसार डा. देवकोटा र डा. शर्मा अतिरिक्त सचिवमा बढुवाका लागि सिफारिस भएका हुन्। हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाम परिवर्तन भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको छ।
जेठ १९, २०८३ मंगलबार २१:४७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।