पेलेरै प्रतिनिधि सभाको नियमावली पारित गरिएपछि गगनले भने- ‘अब अदालतको विषय बन्छ’

पेलेरै प्रतिनिधि सभाको नियमावली पारित गरिएपछि गगनले भने- ‘अब अदालतको विषय बन्छ’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ता पक्षले संसद्को शक्तिको चरम दुरुपयोग गरी जबरजस्ती प्रतिनिधि सभाको नियमावली पारित गरेको आरोप लगाएका छन्।

आइतबारको बैठकमा विपक्षी दलहरूले प्रतिनिधि सभाको नयाँ नियमावलीमाथि थप छलफलको माग गरे पनि त्यसलाई अस्वीकार गर्दै सभामुख डोलप्रसाद अर्यालले नियमावली पारित भएको घोषणा गरे। विपक्षीको अवरोध र नाराबाजीका बीच मर्यादापालकहरूको सुरक्षा घेरामा रहेर उनले नयाँ नियमावली पारित भएको घोषणा गरेका थिए। 

उक्त संसदीय गतिविधिलाई संसद्को इतिहासमै कालो दिनको संज्ञा दिँदै सभापति थापाले कुनै अमुक व्यक्तिको संरक्षणका लागि संविधान र कानुनको मर्मविपरीत शक्ति प्रयोग गरिएको दाबी गरे। उनले संसद् सञ्चालन गर्ने कार्यविधि (प्रोसीडरल ल) मा जबरजस्ती गरेर संविधानभन्दा माथि रहने गरी व्याख्या गरिएको बताए। 

थापाले भने, "संविधानमा जे लेखिएको भए पनि, कानुनमा जे लेखिएको भए पनि यो संसदभित्र आउने व्यक्तिसँग नेपालमा कोहीसँग पनि नभएको विशिष्ट अधिकार हुन्छ है, र त्यो विशिष्ट अधिकार के हो भन्ने कुराको व्याख्या गर्ने अन्तिम व्याख्याता चाहिँ सभामुख हुनुहुन्छ है भनेर अमुक व्यक्तिका लागि, अमुक पात्रका लागि हिजो संसदको शक्तिको चरम दुरुपयोग भयो।"

थापाले उक्त विषय अब न्यायिक निरूपणको बाटोमा जाने विश्वास व्यक्त गरे। "अब सम्मानित अदालतको विषय बन्छ, बन्नुपर्छ," उनले भने, "जहाँ कार्यपालिकाले आफ्नो अधिकार क्षेत्र मिच्छ, त्यहाँ पनि न्यायपालिका उभिनुपर्छ। जहाँ व्यवस्थापिकाले मिच्छ, त्यहाँ पनि यो उभिनुपर्छ।"

संसद्मा कांग्रेसले उक्त कदमको प्रतिवाद र विरोध गरेको उल्लेख गर्दै उनले कहिलेकाहीँ संसदीय लडाइँ हारिने भए तापनि यो विषयलाई नागरिकस्तरसम्म पुर्याउनु आवश्यक रहेको बताए।

जेठ १८, २०८३ सोमबार १९:०७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।