प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, ताली बजाउने रास्वपा सांसदलाई प्रश्न गरौँ: गगन थापा
रूपन्देही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमाका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय पार्टी पदाधिकारी तथा जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गर्दै उक्त भनाइमा संसदमा ताली बजाउने रास्वपाका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आग्रह गरेका हुन्।
उनले भने, “‘हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसदमा पठाएका होइनन्। त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ।”
प्रधानमन्त्रीले नबुझी बोलेको भए त्यो चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै उनले यसबाट नेपाली जनताको शिर निहुरिएको बताए। प्रतिपक्षको धर्म सरकारका गलत काममा खबरदारी गर्नु रहेको उल्लेख गर्दै थापाले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न माग गरे।
"सरकारले राम्रो काम गर्दा सघाउने र गलत काम गर्दा खबरदारी गर्ने वा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म हो, र त्यो जिम्मेवारी काँग्रेसले निर्वाह गर्छ," सभापति थापाले भने।
यस विषयमा माफी नमागे प्रधानमन्त्री शाहलाई जनताले नछाड्ने उनले दाबी गरे।
सभापति थापाले संसदबाट जबरजस्ती 'प्रतिनिधि सभा नियमावली २०८३' पारित गरिएको भन्दै त्यसप्रति समेत कडा आक्रोश व्यक्त गरे। उक्त घटनालाई संसदीय इतिहासकै 'कालो दिन' को संज्ञा दिँदै उनले सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे कांग्रेस न्यायका लागि अदालत जाने संकेत समेत गरे।
पार्टीको आन्तरिक संगठन र आगामी चुनावी रणनीतिका बारेमा बोल्दै सभापति थापाले अबका निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई रिझाएर नहुने स्पष्ट पारे। उम्मेदवार बन्न कार्यकर्ताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो।
पार्टीमा भइरहेको क्रियाशील सदस्यता अध्यावधिकको मुख्य उद्देश्य नै उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउनु रहेको उनले दाबी गरे। “सम्बन्धित पदका लागि कुन व्यक्ति उपयुक्त हुन्छ भनेर हामी सर्वेक्षण गर्नेछौं र त्यसैका आधारमा उम्मेदवार चयन गर्नेछौं। अध्यावधिकको मुख्य उद्देश्य पनि यही हो।” थापाले भने।
पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन प्रक्रिया तीव्र गतिमा अघि बढेको जानकारी दिँदै थापाले आगामी चैतभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताए। साथै कांग्रेसको औपचारिक संरचनाभन्दा बाहिर रहेका स्वतन्त्र र बौद्धिक व्यक्तिहरूलाई समेत समेट्न पार्टीले विशेष कार्यक्रम ल्याउने उनले जानकारी दिए।
जेठ १८, २०८३ सोमबार १६:५५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।