संसदमा प्रधानमन्त्री वालेन्द्रको सरप्राइज, हात उठाएर रोष्टममा गएर भने : प्रश्नहरू सोध्नुस्

संसदमा प्रधानमन्त्री वालेन्द्रको सरप्राइज, हात उठाएर रोष्टममा गएर भने : प्रश्नहरू सोध्नुस्

काठमाडौं : प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तरको माग गरिरहेका थिए। प्रधानमन्त्री वालेन्द्रले टारिरहेका थिए। आइतबार संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यसूची थिएन।

संसदमा प्रधानमन्त्री वालेन्द्र उपस्थित भए। सभामुख डिपी अर्यालले सभाको बैठक सुरु गरेपछि प्रधानमन्त्री वालेन्द्रले हात उठाएर बोल्ने समय मागे। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख अर्यालले टिमसँग छलफल गरेर समय दिए।

प्रधानमन्त्री वालेन्द्र रोस्टममा गएर संसदमा प्रश्नोत्तरका लागि सांसदहरूबाट माग भएको भन्दै आफू जवाफ दिन तयार रहेको भन्दै सांसदहरूसँग प्रश्नहरू मागेका थिए।

त्यसपछि विपक्षी सांसदहरू अलमलमा परे। केहीले संसद्को नियमावली अनुसार तीन दिन अगाडि सांसदहरूले लिखित प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने तथा १५ जना सांसदले प्रश्न सोध्न पाउने भन्दै नियमावली विपरीत काम भएको भन्दै नियमापत्ति जनाए।

सभामुख अर्यालले त्यस्तो नियम नभएको र प्रधानमन्त्री जवाफ दिन रोष्टममा उपस्थित भएको भन्दै प्रश्न सोध्न विपक्षी दलका सांसदहरूलाई दुई मिनेटको समय दिए। सांसदहरूले आ-आफ्नो प्रश्न सोधेका थिए। तर पूर्व तयारी नगरेकाले अधिकांश सांसदहरू प्रश्न सोध्न अलमलिएका देखिन्थे।

प्रमुख प्रतिपक्षी, प्रतिपक्षी, स्वतन्त्र र सत्तापक्षका सांसदहरूले प्रश्न सोधे। प्रधानमन्त्री वालेन्द्रले जवाफ दिए। प्रश्न सोध्नेक्रम सकिएपछि सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्रलाई आफ्नो आशनमा बस्न भने तर उनी सरासर संसदको बैठक कक्षबाट बाहिरिए।

जेठ १७, २०८३ आइतबार १४:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।