कारागारबाट भागेर श्रृंखलाबद्ध लुटपाट मच्चाउने समूहमाथि प्रहरीले चलायो गोली, दुई जना पक्राउ
काठमाडौं : काठमाडौंमा खुर्सानीको धुलो प्रयोग गरी लुटपाटमा संलग्न रहेको एक गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उमेश सिंह हत्याका अभियुक्त समेत रहेका गणेश कार्की र उनका सहयोगी विष्णु गुरुङ रहेका छन्। पक्राउ गर्ने क्रममा प्रहरीले प्रहार गरेको गोली लागि कार्की घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार दिउँसो करिब १ बजे यो समूहले एक महिलाको सुनको सिक्री र मोबाइल लुट्ने प्रयास गरेको थियो। लुटपाट गर्ने क्रममा उनीहरूले खुर्सानीको धुलो प्रयोग गरेका थिए।
“लुटपाट भएको १ बजे हो। एक महिलालाई सिक्री र मोबाइल लुट्ने प्रयास भएको थियो।” उनले भने।
भट्टाराईका अनुसार लुटेराहरुले खुर्सानीको धुलो प्रयोग गरेर लुट्ने प्रयास असफल भएपछि भाग्ने क्रममा विष्णु गुरुङ्गलाई परिषरबाट खटिएको टोलीले पक्राउ गरेको थियो भने गणेश कार्की फरार भएका थिए।
फरार कार्कीको खोजीमा जुटेको प्रहरी वृत्तको टोलीले राति साढे ९ बजे काँडाघारीस्थित टाउन प्लानिङ नजिकै उनलाई फेला पारेको थियो। प्रहरीले घेरा हाल्न खोज्दा कार्कीले पुनः प्रहरी टोलीमाथि नै खुर्सानीको धुलो प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको एसपी भट्टराईले जानकारी दिए।
“हामीले खोज्दै थियौं, राति ९:३० बजेतिर, काँडाघारीको टाउन प्लानिङ नजिकै फेला परेका हुन्। नियन्त्रणमा लिने क्रममा, फेरि उनले हाम्रो टोली माथि खुर्सानीको धुलो फ्याँकेपछि, प्रहरीले गोली चलाउनु परेको थियो,” उनले भने।
अभियुक्त गणेश कार्कीको साथबाट एउटा खुकुरी समेत बरामत भएको प्रहरीले जनाएको छ। कार्की प्रहरीको खोजी लिस्टमा रहेको अपराधी रहेको भट्टाराईले जानकारी दिए।
कार्की जेनजी आन्दोलनपछि २४ भदौमा कारागारबाट भागेर फरार रहेका थिए। उनीविरुद्ध यसअघि २०६४ सालमा प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार र बालाजुमा हातहतियार तथा खरखजानाको मुद्दा समेत चलेको थियो।
त्यस्तै, बौद्धमा उमेश सिंह नामक व्यक्तिको हत्या गरेको अभियोगमा उनी अदालतबाट १० वर्ष कैद सजाय पाएका अपराधी समेत हुन्।
त्यस्तै उनलाई बौद्धमा उमेश सिंह नामक व्यक्तिको हत्या अभियोगमा १० वर्ष कैद सजाय पाएका थिए।
गोली लागेर घाइते भएका कार्कीको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
जेठ १७, २०८३ आइतबार १२:१५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।