साढे छ करोडको ‘हनी ट्रयाप’ प्रकरण : थाइल्याण्डमा पक्राउ परेकी टिकटकर तुलसालाई काठमाडौं ल्याइयो

साढे छ करोडको ‘हनी ट्रयाप’ प्रकरण : थाइल्याण्डमा पक्राउ परेकी टिकटकर तुलसालाई काठमाडौं ल्याइयो

काठमाडौं : ललितपुरका एक अटोमोबाइल्स व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारी साढे ६ करोड असुली र सम्पत्ति शुद्धीकरणको अभियोग लागेकी तुल्सी अधिकारी (तुलसा)लाई थाइल्यान्डमा पक्राउ गरी नेपाल ल्याइएको छ। 

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड कर्नर नोटिस जारी भएकी उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार उनलाई हाल प्रहरी हिरासतमा राखिएको छ।

थुनछेक बहसका लागि उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी छ। केही समयदेखि चीनमा बस्दै आएकी अधिकारी थाइल्यान्ड पुगेको विशेष सूचनाका आधारमा इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

सहमतिमा राखेको शारीरिक सम्बन्धलाई हतियार बनाएर बलात्कारको मुद्दा दायर गर्ने भनी धम्क्याएर ६ करोड ५२ लाख रकम ठगी गरेको अभियोगमा अधिकारीसहित १० विरुद्ध मुद्दा दायर गरिएको थियो।

उनले ललितपुरको ग्वार्कोस्थित ‘हाम्रो अटोमोबाईल्स’का सञ्चालक कुमार चिमोरियासँग शारीरिक सम्पर्क भएको विषयलाई हतियार बनाई विभिन्न किसिमको धाक धम्की दिई त्रास देखाई नगद रुपैयाँ, जिन्सी सर-सामान लगाएयतका धनमालहरू किन्न लगाएर रकम असुलेको दाबी गरिएको थियो।

अनुसन्धानका क्रममा उक्त रकम उनले विभिन्न व्यक्तिका खातामा राख्ने, जग्गा खरिद गर्ने र हुण्डीमार्फत चीन पठाउने गरेको खुलेको थियो। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अधिकारीसहित ९ जना व्यक्ति र एक कम्पनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ। 

प्रहरी अनुसन्धानको क्रममा यस प्रकरणमा ‘कानो मामा’ भनिने प्रयास पोखरेलको पनि संलग्नता देखिएको थियो। पोखरेलको नाममा ‘टिपुरी कलेक्सन’ नामक कम्पनी खडा गरी अवैध धन व्यवस्थापन गरिएको अभियोग पत्रमा उल्लेख छ।

जेठ १७, २०८३ आइतबार १०:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।