मुक्तिनाथ दर्शन गर्न पुगेका १३ पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ दर्शन गर्न पुगेका १३ पर्यटकको लेक लागेर मृत्यु

मुस्ताङ : पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका नौ विदेशी नागरिकसहित १३ पर्यटकले लेक लागेर ज्यान गुमाएका छन्। चालु आवको जेठ १५ गतेसम्म मुस्ताङमा मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको बताए। मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन्। 

धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे।

मुस्ताङमा हाइअल्टिच्युडका कारण लेक लागेर बढी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। बेँसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकलाई पर्याप्त रूपमा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता अपनाउन नसक्दा लेक लागेर मृत्यु हुने समस्या देखिएको हो। 

समुद्री सतहको तीन हजार मिटरमाथिको उच्च उचाइको पर्वतीय क्षेत्रमा अक्सिजनको लेवल कम भई यहाँ आएका पर्यटकलाई लेक लाग्ने समस्या रहने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे।

यहाँका सरोकारवाला सरकारी कार्यालयले हाइअल्टिच्युडका कारण लेक लाग्ने समस्या कम गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, मुक्तिनाथ विकास समिति, स्थानीय तह र सुरक्षा निकायलगायतले हाइअल्टिच्युडसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना थासाङ-४ घाँसामा लेक लाग्ने समस्यासम्बन्धी सचेतनामूलक साइन बोर्ड राखिएको छ। एक्यापले चालु वर्ष घाँसादेखि मुक्तिनाथसम्म पर्यटकीय चहलपहल हुने स्थानमा बोर्ड टाँस गरेको एक्याप प्रमुख राजेश गुप्ताले जानकारी दिए। 

त्यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालयले पनि हाइअल्टिच्युडसम्बन्धी साइन बोर्ड तथा ब्रोसर छपाएर पर्यटकलाई वितरण गर्ने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले बताइन्।

हाइअल्टिच्युडको जोखिम कम गर्न तथा पर्यटकको स्वास्थ्य रक्षाका लागि वारागुङ-१ मुक्तिक्षेत्रका सबै होटलमा प्रोटेबल अक्सिजन सिलिन्डरसहित लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले जानकारी दिए। 

मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सम्बन्धित ट्राभल एजेन्सी र होटलहरूले पर्याप्त हाइअल्टिच्युडसम्बन्धी जानकारी दिन नसक्दा लेक लाग्ने घटना न्यूनीकरण हुन नसकेको हो। विभिन्न पर्यटक ट्राभल्स कम्पनीहरूले यहाँ आउने पर्यटकलाई होल्डिङ नगरी एकसाथ गन्तव्यमा पुर्याउने परिपाटीका कारण पनि लेक लाग्ने समस्या जटिल बनेको हो। उच्च स्थानमा हाइअल्टिच्युडको जोखिमबाट सुरक्षित रहन ठाउँठाउँमा होल्डिङ गर्दै यात्रा गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन्।

मुक्तिनाथ दर्शनार्थीहरूको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ व्यवस्थापन गरिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए। 

मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीबाटो नेपाली सेनाले निर्माण गरेको विश्रामस्थलमा गरी दुई ठाउँबाट उक्त सेवा प्रदान गरिएको संयोजक बोहोराले उल्लेख गरे। बेँसीको समथर ठाउँबाट हिमाली जिल्लाको उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटकमध्ये शारीरिक रूपमा अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हाइअल्टिच्युडको समस्या देखिने गरेको छ।

जेठ १७, २०८३ आइतबार ०९:३३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।