हराएको डेढ महिनापछि जङ्गलमा भेटियो छन्त्यालको शव
म्याग्दी : डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि शनिबार भेटिएको छ।
वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरि गाउँपालिका-३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाइएको जानकारी दिए।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र शव उठाइ परिवारको जिम्मा लगाएको हो।
जेठ १६, २०८३ शनिबार २१:२७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।