राप्रपाका तीन पूर्वअध्यक्षको अपिल : 'आत्मघाती कदम नचाल्नू, पलायनको सोच नराख्नू'

राप्रपाका तीन पूर्वअध्यक्षको अपिल : 'आत्मघाती कदम नचाल्नू, पलायनको सोच नराख्नू'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक कलहले विभाजनको रूप लिइरहेको चर्चा चलिरहँदा पार्टीका तीन पूर्व अध्यक्षले पार्टीमा छाड्ने वा पलायनको सोच नराख्न र कुनै पनि आत्मघाती कदम नचाल्न सामूहिक अपिल गरेका छन्।

शनिबार पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले एक संयुक्त वक्तव्य जारी गरेर पार्टीको भविष्य उज्ज्वल रहेकोले संगठन निर्माणमा जुट्न अनुरोध गरे। पार्टीभित्रका समस्या र चुनौतीको निराकरण महाधिवेशनले नै गर्ने उनीहरूको भनाई छ।

जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति तय गर्ने भन्दै उनीहरूले पार्टी संगठन सुदृढीकरणमा लाग्न र पलायनको सोच नराख्न अपिल गरे। निर्वाचनमा अपेक्षित परिणाम नआए पनि विचलित नभई हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि एकजुट हुन आग्रह गरे।

मुलुकको वर्तमान संकटबाट निकासका लागि राप्रपालाई थप सशक्त बनाउनुपर्नेमा उनीहरूको जोड छ। हारजित र उतारचढावलाई राजनीतिको स्वाभाविक प्रक्रिया मान्दै उनीहरूले प्रतिकुल अवस्थामा पनि आफ्ना सिद्धान्तप्रति निष्ठावान् रहन कार्यकर्तालाई आग्रह गरे।

जेठ १६, २०८३ शनिबार २१:०६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।