स्थानीय निर्वाचनमा कांग्रेसको नयाँ नीति: लिडरसीप कोर्ष पढेपछि मात्र टिकट
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न 'लिडरसीप एकेडेमी' को कोर्ष पूरा गर्नु अनिवार्य हुने बताएका छन्।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले उक्त कोर्ष पूरा नगरेका कुनै पनि नेता वा कार्यकर्तालाई उम्मेदवार नबनाइने प्रष्ट पारे।
"हामीले नेतृत्व विकासका लागि 'लिडरसीप एकेडेमी' को छुट्टै युनिट बनाएका छौं, जसका लागि केही दिनमा खुला आह्वान गर्दैछौं," सभापति थापाले भने, "७५३ वटै पालिकामा निर्वाचन लड्न चाहने चाहना भएको कोही पनि हुनुहुन्छ म उम्मेदवार बन्न चाहन्छु भनेर, कोही दोहोरिन चाहनुभएको छ, नयाँ उम्मेदवार बन्न चाहनुभएको छ, सबैले अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्ष पूरा गर्नैपर्छ।"
लिडरसीप एकेडेमीमा कोर्ष पूरा गरिसकेपछि मात्रै उम्मेदवारका लागि योग्य बन्ने उनले बताए।
यस्तै, उनले आगामी स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामध्ये कम्तीमा १०० वटा पालिकाको मेयर वा अध्यक्ष पदमा महिलालाई उम्मेदवार बनाउन पार्टीले तयारी गरिरहेको समेत थापाले जानकारी दिए।
"पालिका प्रमुखमा महिला ल्याउने हो भने अहिलेदेखि नै बढीभन्दा बढी महिलालाई लिडरसीप कोर्षमा भर्ना गराउनुपर्यो," थापाले जोड दिँदै भने "मैले यहाँ बोलिदिएर मात्र हुँदैन, यसका लागि अहिलेदेखि नै सबैले मेहनत र काम गर्नुपर्छ।"
चुनावको व्यवस्थित तयारीका लागि पार्टीले 'इलेक्सन ब्युरो' गठन गरेको र त्यसको नेतृत्व पार्टी नेतृ पुष्पा भुसालले गरिरहेको उनले जानकारी दिए। यसपटकको निर्वाचनमा कांग्रेसले समुदायगत रूपमा पनि बढीभन्दा बढी समावेशी प्रतिनिधित्व लिएर जनतामा जाने उनले बताए।
जेठ १६, २०८३ शनिबार १७:०२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।