बजेटले गरिबलाई थप संकटमा पार्ने दुर्गा प्रसाईंको दाबी
काठमाडौं : सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई धराशायी बनाउने र गरिब जनतालाई थप संकटमा पार्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले स्वास्थ्य र शिक्षामा भ्याट लगाएर सर्वसाधारणको बाँच्न पाउने अधिकारमाथि नै प्रहार गरिएको दाबी गरे।
आधारभूत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनुलाई उनले अपराधको संज्ञा दिए। वर्तमान आर्थिक नीतिले मुलुकलाई समृद्धिको साटो झन् जर्जर बनाउने उनको भनाई थियो।
गरिबलाई नभई धनी वर्गलाई मात्र लक्षित गरेर बजेट ल्याइएको प्रसाईंले बताए। उनले भने, "गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो। सरकारले निजी क्षेत्रलाई सिद्ध्याउन खोजेको छ।"
आफू र आफू सञ्चालित संस्थाहरूले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिँदै आएको बताउँदै उनले राज्यले यस्तो सुविधा खोस्न नहुने तर्क गरे। यसैगरी उनले सरकारले आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरेकोप्रति असन्तुष्टि जनाए। उनले सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भएको उल्लेख गरे।
उनले भने, "मेरो हस्पिटलमा लासबाट पैसा उठाएर, बिरामीबाट पैसा उठाएर पनि म भ्याट बुझाउँछु ? बरु हस्पिटल बन्द गर्दिन्छु। सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भयो। महिनाको जम्मा २८ हजार आउँछ। एउटा केही गतिलो किनेर लैजान सकिँदैन।"
उनले वर्तमान सरकारको आर्थिक नीति, राजस्व संकलन क्षमता तथा सार्वजनिक खर्च व्यवस्थापनमाथि पनि प्रश्न उठाए। बजेटको आकार र राज्यको आम्दानीबीच ठूलो अन्तर रहेको दाबी गर्दै प्रसाईंले सरकारले व्यावहारिक आर्थिक योजना ल्याउन नसकेको बताए।
जेठ १६, २०८३ शनिबार १५:२४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।