सप्तरीमा खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु

सप्तरीमा खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु

सप्तरी : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ। 

स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय  मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।

लौगीको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। खेतीको समयमा सप्तरीसहित मधेस प्रदेशमा बिद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा कतिपय किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्।  

जेठ १६, २०८३ शनिबार १४:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।