हिमाल आरोहणका क्रममा ७ जनाको मृत्यु, भारतीय आरोही तिवारीको शव सगरमाथामै छोडिने
काठमाडौं : सन् २०२६ को यस वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहण गर्ने क्रममा हालसम्म सात जना आरोही तथा पथप्रदर्शक (गाइड) को मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना भारतीय नागरिक र पाँच जना नेपाली गाइड तथा आरोही रहेका छन्।
पर्यटन विभाग र आधार शिविरस्थित सम्पर्क अधिकृतका अनुसार सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोही अरुणकुमार तिवारी र सन्दीप आरेको निधन भएको हो।
त्यस्तै, खुम्बु आइसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को बिचमा ३५ वर्षीय विजय घिमिरेको यसअघि नै मृत्यु भइसकेको छ। ट्याग नेपालका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरेको मृत्यु भएको हो।
त्यसअघि, आधार शिविर नजिकै सेभेन समिट टे्रेक्ससँग आबद्ध पर्वतारोही गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको थियो। सोलुखुम्बुको सोताङ गाउँपालिका–४ स्थायी घर भएका ५२ वर्षीय शेर्पाको आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर मृत्यु भएको पुष्टि गरिएको हो। त्यस्तै, पासाङल्हामु गाउँपालिका–५ का फुरा गेल्जेन शेर्पाको पनि निधन भएको छ।
त्यसैगरी डेभिड रोबिनेक र जोहानसेन शेलीको मकालु हिमाल आरोहणका क्रममा क्रमशः मकालु–३ र मकालु–१ क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ।
मृतकहरूमध्ये अन्यको शव व्यवस्थापन भइसके पनि भारतीय आरोही अरुणकुमार तिवारीको शव भने सगरमाथामै छोडिने भएको छ। अत्यधिक खर्च, भौगोलिक जटिलता र धार्मिक विश्वासका कारण उनको परिवारले शवलाई 'देवभूमि' वा 'भगवान शिवको निवास' मानिने हिमालय क्षेत्रमै छोड्ने निर्णय गरेको हो।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार हैदराबाद निवासी तिवारीकी श्रीमती र दुई छोरीले शव हिमालमै व्यवस्थापन गर्न अनुमति दिइसकेका छन्।
गरमाथाबाट ओर्लने क्रममा 'हिलारी स्टेप' नजिकै मृत्यु भएका तिवारीको शव हिउँमा जमिसकेको छ। माइनस ६३ डिग्रीको अत्यधिक चिसोका कारण शरीर कडा भएकाले शव निकाल्दा टुक्रिन सक्ने र अपमानित तरिकाले शव ल्याउन परिवारले अस्वीकार गरेको हो।
तिवारीको परिवारले हिमालप्रतिको उनको प्रेमलाई सम्मान गर्न शव हिमालयमा गाड्न अनुमति दिने निर्णय गरेको र शव हैदराबादमा फिर्ता लैजान ९० लाख रुपैयाँसम्म खर्च हुने पनि टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
जेठ १६, २०८३ शनिबार १३:४४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।