भारतको उत्तर प्रदेशमा नेटवर्किङ व्यवसायका नाममा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

भारतको उत्तर प्रदेशमा नेटवर्किङ व्यवसायका नाममा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

बुटवल : रोजगारीको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त पहलमा उनीहरूलाई शुक्रबार राति उद्धार गरी शनिबार नेपाल ल्याइएको हो।

लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको सक्रियतामा भारतीय प्रहरीसँग समन्वय गरी उक्त उद्धार अभियान सञ्चालन गरिएको थियो।

राम्रो जागिर र आकर्षक कमाइको प्रलोभन देखाएर एक सङ्गठित गिरोहले नेपाली युवायुवतीलाई विभिन्न जिल्लाबाट भारत पुर्याएको प्रहरीले जनाएको छ।

कुशीनगर पुर्याएपछि उनीहरूलाई नेटवर्किङ व्यवसायमा आबद्ध हुन र नयाँ सदस्य थप्न दबाब दिने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गिरोहले सुनौली नाका हुँदै नेपालीहरूलाई भारत लैजाने र त्यहाँ पुगेपछि प्रतिव्यक्ति ७ हजारदेखि १ लाख भारतीय रुपैयाँसम्म असुल्ने गरेको थियो।

सदस्य बन्न अस्वीकार गर्नेहरूलाई मानसिक यातना दिने र उनीहरूका परिवारसँग समेत फिरौती रकम माग गर्ने गरिएको पाइएको छ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार कुशीनगरमा लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका गरी करिब एक हजार नेपालीलाई लगिएको सूचना प्राप्त भएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै बन्धक बनाइएको स्थान पहिचान गरी भारतीय प्रहरीको सहयोगमा उद्धार कार्य अघि बढाएको हो।

पीडितका आफन्तहरूले फिरौती मागिएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि यस घटनाको अनुसन्धान सुरु भएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले चार दिनसम्मको निरन्तर खोजी र कूटनीतिक समन्वयपछि उद्धार कार्य सफल भएको जानकारी दिए।

त्यहाँ रहेका बाँकी नेपालीहरूको खोजी र उद्धारका लागिसमेत पहल भइरहेको प्रहरीले जनाएको छ।

जेठ १६, २०८३ शनिबार १३:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।