चुनाव लक्षित एमालेको कार्यविभाजन : पदाधिकारीबाहेकका केन्द्रीय नेताहरू अब पालिकामा

चुनाव लक्षित एमालेको कार्यविभाजन : पदाधिकारीबाहेकका केन्द्रीय नेताहरू अब पालिकामा

काठमाडौं : एमालेले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन टुङ्गो लगाएको छ।

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै एमालेले ‘पार्टी जागरण अभियान’ घोषणा गरेको छ, जसअन्तर्गत पदाधिकारीबाहेकका केन्द्रीय नेताहरूलाई पालिका स्तरमै खटाइने भएको छ।

गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले कार्यविभाजनको  प्रस्तावलाई अन्तिम रुप दिन जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई दिएको थियो। सोहीबमोजिम अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै ११औँ राष्ट्रिय महाधिवेशनपछिको यो पहिलो कार्यविभाजन र नयाँ अभियान सार्वजनिक गरेका हुन्। 

कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ।

कार्यविभाजनअनुसार अध्यक्ष ओलीलाई समग्र कामको नेतृत्व र महासचिव पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ। उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ। नौमध्ये छ सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ। 

कोशीका लागि सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वययंसेवा विभागको प्रमुख, सचिव पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख तोकिएको पार्टी कार्यालयले जनाएको छ।

अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इञ्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इञ्चार्ज, यमलाल कँडेललाई कर्णाली इञ्चार्ज, शेरधन राईलाई कोशी इञ्चार्ज, डा. राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इञ्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्ज तोकिएको छ। 

कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई तोकिएको छ।

जेठ १६, २०८३ शनिबार १२:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।