महिला अधिकार र सशक्तीकरणमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

महिला अधिकार र सशक्तीकरणमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराए। उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक, समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको ग्यारेन्टी गरिएको समेत उल्लेख गरे।

प्रधानमन्त्री शाहले समाजमा व्याप्त कतिपय कुप्रथा र आधुनिक चुनौतीहरूका विरुद्ध एकजुट हुन आह्वान गरेका छन्। उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना बढाउनु आवश्यक रहेको बताए। 


प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

यसै अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि शुभकामना सन्देश जारी गरेकी छन्। उनले महिला अधिकार केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा मात्र सीमित हुन नहुनेमा जोड दिइन्।

उनले महिला अधिकार सामाजिक व्यवहार, अवसरको समान पहुँच र सम्मानजनक सहभागितासँग जोडिएको विषय भएकाले संविधानप्रदत्त अधिकारलाई पूर्ण रूपमा लागू गर्न राज्य, समुदाय र नागरिक समाजबीच सक्रिय सहकार्य आवश्यक रहेको बताइन्।

यस वर्षको आठौँ राष्ट्रिय महिला अधिकार दिवस 'महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान' भन्ने मूल नाराका साथ देशभर मनाइँदैछ।

जेठ १६, २०८३ शनिबार ११:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।