बाजुरामा भारी वर्षा : जलविद्युत् आयोजना, सडक र बालीनालीमा व्यापक क्षति

बाजुरामा भारी वर्षा : जलविद्युत् आयोजना, सडक र बालीनालीमा व्यापक क्षति

बाजुरा : बाजुरामा हिजोदेखि जारी भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा भौतिक पूर्वाधार र बालीनालीमा व्यापक क्षति पुगेको छ। जिल्लाका नौवटै स्थानीय तहमा भइरहेको वर्षाका कारण जनजीवन कष्टकर बनेको छ।

अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति जगन्नाथ गाउँपालिका-१ को पिलुचौर क्षेत्रमा भएको छ। त्यहाँ सञ्चालित बड्डीगाड लघु जलविद्युत् परियोजना पहिरोले पुरिँदा विद्युत् सेवा अवरुद्ध भएको छ।

नहरको माथिल्लो भागबाट खसेको पहिरो, ढुङ्गा र बालुवाले परियोजनाको फोरबे, ग्राभेल ट्र्याप, ७३५ मिटर नहर तथा इन्टेक साइडको करिब १२० मिटर कुलो पुरेको छ। यसै गरी, करिब ४० मिटर नहर पूर्ण रूपमा नष्ट भएको छ।

यस्तै, वर्षाका कारण अवरुद्ध बनेको पिलुचौर-ढाडाकोट-कोल्टी सडक खण्ड भने नगरपालिकाले जेसिभी परिचालन गरी पुनः सञ्चालनमा ल्याएको छ।

वर्षाले बूढीनन्दा नगरपालिकामा पनि ठूलो क्षति पुर्याएको छ। नगरपालिकाको वडा नं. १ र ६ का साउनेगाउँ, लाटुबस्ती, मोटेला र पार्तोला लगायतका स्थानमा ठूलो परिमाणमा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। बाढीले बालीनाली नष्ट गर्नुका साथै सडक, खानेपानी र विद्युत् सेवा अवरुद्ध पारेको छ।

बूढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले ठूलो मात्रामा उब्जाउ खेतबारी बाढीले नष्ट पारेको जानकारी दिँदै तत्काल क्षतिको विवरण सङ्कलन गर्न र जनजीवन सामान्य बनाउन नगर सरकार प्रतिबद्ध रहेको बताए।

वर्षा जारी रहेकाले जिल्लाभरि खानेपानी, विद्युत् र यातायात जस्ता आधारभूत सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ।

प्रभावित क्षेत्रका बासिन्दाले राहत, पुनःस्थापना र भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग तत्काल आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउन माग गरेका छन्।

जेठ १६, २०८३ शनिबार ०९:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।