अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा प्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका-५ बस्ने ४५ वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सिराहाको कल्याणपुर नगरपालिका-१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जाको फेदीखोला गाउँपालिका-४ का अर्जुनकुमार पौडेल र जिप चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-५ का २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ताको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्याएको थियो। त्यहाँ प्राथमिक उपचार गरेपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।

जेठ १६, २०८३ शनिबार ०८:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।