प्रधानमन्त्रीको खुट्टामा १४ सयको ‘गोल्डस्टार’
काठमाडौं : नीति तथा कार्यक्रम प्रस्तुतिको दिन आधा समयमै बैठकबाट बाहिरिएका प्रधानमन्त्री बालेन्द्र शाह १८ दिनपछि शुक्रबार संघीय संसद्मा उपस्थित भए।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणको पूरा समय संसद् बैठकमा सहभागी भएका प्रधानमन्त्री शाह यस पटक आफ्नो विशेष शैली र नेपाली ब्राण्डको जुत्ताका कारण चर्चामा रहेका छन्।
बजेट भाषण सकिएपछि संसद् भवनमा सांसदहरूसँग हात मिलाउने क्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद एवं ‘गोल्डस्टार’ जुत्ता उत्पादक किरण सुज कम्पनीकी प्रमुख विदुषी राणासँग कुराकानी गरेका थिए।
कालो पहिरनमा सजिएका प्रधानमन्त्री शाहले आफूले लगाएको सेतो जुत्ता देखाउँदै राणालाई भने, ‘मैले पनि गोल्डस्टार लगाएको छु।’
प्रधानमन्त्रीले लगाएको जुत्ता गोल्डस्टारको नयाँ ‘आर्क सिरिज’ को रहेको र यसको बजार मूल्य करिब १४ सय रुपैयाँ पर्ने सांसद राणाले जानकारी दिइन्। प्रधानमन्त्रीले नेपाली ब्राण्ड प्रवर्द्धन गरेकोमा आफू सुखद आश्चर्यमा परेको उनले बताइन्।
‘म त छक्कै परेँ। नेपालको प्रधानमन्त्रीले हाम्रो जुत्ता लगाउनुहोला भनेर सोचेकी थिइनँ,’ राणाले भनिन्, ‘उहाँले पर्याप्त खोजबिन गरेरै नेपाली उत्पादन रोज्नुभएको पाइयो।’
विगत ५५ वर्षदेखि जुत्ता उत्पादन गर्दै आएको गोल्डस्टार ब्राण्डले विभिन्न कालखण्डमा व्यावसायिक उतारचढाव व्यहोरेको छ।
सशस्त्र द्वन्द्वको समयमा ब्राण्डमाथि लागेको नकारात्मक छाप, भारतीय नोटबन्दी र नेपालको नाकाबन्दी जस्ता सङ्कटका कारण उद्योगले ठूलो धक्का बेहोरेको पृष्ठभूमि उल्लेख गर्दै राणाले देशको कार्यकारी प्रमुखबाट यसरी नेपाली उत्पादनको प्रवर्द्धन हुनुले सकारात्मक सन्देश प्रवाह गर्ने आशा व्यक्त गरिन्।
झन्डै ३ हजार श्रमिक कार्यरत रहेको यस कम्पनीमा ७० प्रतिशत महिला कामदार छन्।
मुलुकको आर्थिक रूपान्तरणका लागि बजेट सकारात्मक रहेको र प्रधानमन्त्री स्वयंले स्वदेशी उत्पादन प्रवर्द्धनमा चासो देखाएकाले नेपाली उद्योगीहरू उत्साहित भएको संसद्मा संक्षिप्त प्रतिक्रिया दिँदै राणाले बताइन्।
जेठ १५, २०८३ शुक्रबार १९:४८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।