बजेटमा काठमाडौं उपत्यका रूपान्तरणको योजना

बजेटमा काठमाडौं उपत्यका रूपान्तरणको योजना

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको दीर्घकालीन र व्यवस्थित विकासका लागि ‘भिजन काठमाडौं २०४०’ योजना कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। 

अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपत्यकाको सम्पूर्ण सहरी सेवा व्यवस्थापनलाई सुदृढ बनाउन एकीकृत पूर्वाधार विकासको नीति अघि सारे।

बजेट वक्तव्यअनुसार उपत्यकाको यातायात प्रणालीलाई सहज बनाउन अण्डरपास, फ्लाईओभर र इन्टरसेक्सन (चोक) सुधारका कार्यहरू सञ्चालन गरिनेछ। 

साथै नदी करिडोरमा पूर्वाधार विकास, सार्वजनिक पार्क निर्माण, फोहोरमैला व्यवस्थापन र युटिलिटी डक्टको व्यवस्थासहित विद्युतीय तारलाई भूमिगत गर्ने कार्यलाई एकीकृत योजनामा समेटिएको छ।

सरकारले खुला क्षेत्रको संरक्षण र विस्तारका लागि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने नीति लिएको छ। यसअन्तर्गत खुला क्षेत्र संरक्षणमा लाग्ने स्थानीय तह र प्रदेशलाई वित्तीय प्रोत्साहन उपलब्ध गराइने बजेटमा उल्लेख छ।

उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन ‘स्मार्ट अर्बन मोबिलिटी’ कार्यक्रम छिटै सुरु गरिने भएको छ। यस कार्यक्रमअन्तर्गत विद्युतीय बस सञ्चालन, चार्जिङ स्टेसन स्थापना, जीपीएस ट्रयाकिङ प्रणाली र स्मार्ट बसपार्क निर्माणलाई सुदृढ संस्थागत व्यवस्थासहित कार्यान्वयन गरिने अर्थमन्त्रीले बताए। 

जेठ १५, २०८३ शुक्रबार १७:०२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।