राजनीतिक परिवर्तनले मात्र युगको अपेक्षा पूरा हुँदैन, राज्यसत्ताको आचरण बदल्नुपर्छ : राष्ट्रपति पौडेल

राजनीतिक परिवर्तनले मात्र युगको अपेक्षा पूरा हुँदैन, राज्यसत्ताको आचरण बदल्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगको अपेक्षा पूरा नहुने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन आउनुपर्नेमा जोड दिए।

‘अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,’ राष्ट्रपति पौडेलले भने, ‘गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्छ। यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ।’

राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजको दिनले प्रेरणा दिने उनले विश्वास व्यक्त गरे।

मुलुकमा उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उनले जनचाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई सरकारले आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाएको बताए।

शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जाग्ने उनले विश्वास व्यक्त गरे।

ढिलासुस्ती, अनियमितता र बेथिति नै मुलुकको प्रमुख शत्रु भएको उनको भनाइ थियो। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यस्तै बेथितिले निराश बनाउन नहुनेतर्फ ध्यान दिनुपर्ने उनले बताए।

‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनले भने।

नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेकाले उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्न आवश्यक रहेको उनले औँल्याए। आर्थिक विकास र समृद्धिबाट मात्र शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सकिने र यो नै आजको ऐतिहासिक अभिभारा भएको उनले उल्लेख गरे।

परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्रै पर्याप्त नहुने भन्दै राष्ट्रपति पौडेलले शासकीय चरित्रसँगै राजनीति, पार्टी र नेताको चरित्रलाई पनि बदल्नुपर्ने धारणा राखे।

उनले भने, ‘गणतन्त्रको उत्कृष्टता प्राप्त गर्न हाम्रो राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नु हुँदैन।’

उनले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्ने तथा राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्ने धारणा राखे।

‘हाम्रा राजनीतिक दल, हाम्रो सरकार र हाम्रो नेतृत्व सिर्जनशील, विनयशील, जनउत्तरदायी र आचरणशील हुनैपर्छ’,उनले थपे।

स्थानीय र प्रदेश सरकारले संविधानबमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले शासकीय व्यवस्थामा जनताका घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए।

नागरिकका गुनासोलाई शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने यस्तो उन्नत लोकतान्त्रिक अभ्यासले लोकतन्त्रको जग बलियो बनाउने उनको भनाइ थियो।

जेठ १५, २०८३ शुक्रबार १२:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।