गणतन्त्र दिवस समारोह : बालेन र डीपीभन्दा पछाडि मन्त्रीको लहरमा रवि लामिछाने

गणतन्त्र दिवस समारोह : बालेन र डीपीभन्दा पछाडि मन्त्रीको लहरमा रवि लामिछाने

काठमाडौं : गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भयो।

राजकीय मर्यादाक्रमअनुसार बस्ने व्यवस्था मिलाइएको समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने बहालवाला मन्त्रीहरूको बीचमा आसीन देखिए।

समारोहमा सांसदहरू बस्नका लागि छुट्टै स्थान तय गरिएको थियो। त्यहाँ रास्वपा लगायत अन्य दलका र स्वतन्त्र सांसद समेत देखिँदा रवि लामिछाने भने मन्त्रीहरूको बीचमा देखिए।

समारोहको आसन ग्रहणको अग्रपङ्क्तिमा राष्ट्रपति रामचन्द्र पौडेल दम्पती, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री वालेन्द्र शाह दम्पती रहेका थिए।

दोस्रो लहरमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहेका थिए।

त्यसपछिको लहरमा भने संघीय सरकारका मन्त्रीहरूका साथमा रास्वपा सभापति लामिछाने बसेका थिए। उनी मन्त्रीहरू सीता वादी, शिशिर खनाल, प्रतिभा रावल र निशा मेहताको बीचमा आसीन थिए।

लामिछानेको दायाँतर्फ मन्त्रीद्वय प्रतिभा रावल र निशा मेहता तथा बायाँतर्फ मन्त्रीद्वय सीता वादी र शिशिर खनाल रहेका थिए।

नेपाल सरकारको विद्यमान मर्यादाक्रमअनुसार संघीय सरकारका बहालवाला मन्त्री र पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रम समान अर्थात् आठौं स्थानमा रहने व्यवस्था छ। सोही कानुनी व्यवस्थाका आधारमा लामिछानेलाई मन्त्रीहरूको लहरमा स्थान दिइएको हो।

यद्यपि, सो लहरमा सरकारका अन्य पूर्वउपप्रधानमन्त्रीहरूको उपस्थिति भने देखिएन। लामिछाने यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि गठित पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन्।

रास्वपाका पार्टी सभापति रहेका लामिछाने राजकीय प्रोटोकलका कारण आफ्नै पार्टीका उपसभापति रहिसकेका वर्तमान सभामुख डोलप्रसाद अर्याल र दलका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहभन्दा पछाडिको लहरमा बस्नुपरेको हो।

जेठ १५, २०८३ शुक्रबार ११:००:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।