टुँडिखेलमा गणतन्त्र दिवस मनाइँदै, बजेट भाषण पनि आजै

टुँडिखेलमा गणतन्त्र दिवस मनाइँदै, बजेट भाषण पनि आजै

काठमाडौं : आज जेठ १५ गते आज गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

समारोह सुरु हुनुअघि नेपाली सेनाले तोप पड्काएर गणतन्त्रको स्वागत गर्नेछ। बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

अघिल्ला वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएकोमा यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन नगर्ने भएका छन्।

गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै उनले शीतल निवासमा पत्र पठाएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी सैनिक मञ्चको कार्यक्रममा उपस्थित हुने भए पनि समारोहलाई राष्ट्रपतिले मात्र सम्बोधन गर्नेछन्।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो।

वि.सं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीको जगमा जनआन्दोलनले गति लिएको थियो।

जनआन्दोलनको बलमा पुनर्स्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै निलम्बन गर्यो। यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ गतेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्यो।

दोस्रो संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै मुलुकमा संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालनमा छन्।

जेठ १५ को संवैधानिक प्रावधान र बजेट वक्तव्य
यसका अलावा आज आगामी आर्थिक वर्षको बजेट पनि प्रस्तुत हुँदैछ। नेपालको संविधान, २०७२ अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ।

सोही व्यवस्था अनुरूप अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट प्रस्तुत गर्नुअघि बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी बजेटका बारेमा जानकारी गराएका थिए।

आगामी आर्थिक वर्षको बजेटको आकार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासन र सुशासनलाई केन्द्रमा राखेर बजेट तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ।

बजेटमार्फत सरकारले आगामी पाँच वर्षसम्मका लागि सुधारका कार्यक्रम व्यवस्थित गर्ने र यस वर्षलाई रूपान्तरणको प्रस्थानविन्दु बनाउने लक्ष्य लिएको छ।

बजेटमा वर्षौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत गतिमा सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी, र निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धिको घोषणा गर्ने तयारी छ।

त्यस्तै, व्यक्तिगत आयकरको सीमा बढाउने र करका दरलाई समयानुकूल बनाउने योजना पनि समेटिएको छ। उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई एक सय अर्ब डलरको बनाउने दीर्घकालीन लक्ष्य बजेटले तय गरेको छ।

अर्थमन्त्री वाग्लेले आज संसद्मा विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन्।

जेठ १५, २०८३ शुक्रबार ०७:३४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।