काभ्रेमा हावाहुरीले टहरो भत्किँदा एक वृद्धाको मृत्यु
काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिकामा हावाहुरीका कारण गुडरी (टहरो) भत्किँदा एक वृद्धाको किचेर मृत्यु भएको छ।
बेथानचोक गाउँपालिका वडा नं. ६ भुरुङ्गे टावरीमा काठ र जस्तापाताले बनेको अस्थायी टहरो हावाहुरीले भत्काउँदा ७१ वर्षीया ठुलीमाया तामाङको ज्यान गएको हो।
प्रहरीका अनुसार गत जेठ १२ गते राति करिब १० बजे चलेको तीव्र हावाहुरीले टहरो भत्काउँदा त्यहाँ बस्दै आएकी तामाङलाई काठले किचेको थियो।
उक्त टहरोमा मृतक ठुलीमाया र उनका श्रीमान् चन्द्रबहादुर तामाङ मात्र बस्दै आएका थिए। छिमेकीका अनुसार यो वृद्ध दम्पतीका छोराछोरी छैनन्।
दुर्घटनाबारे जेठ १३ गते बिहान ११:३० बजे मात्र प्रहरीलाई खबर प्राप्त भएको थियो।
जानकारी पाउनासाथ घटनास्थल भन्दा १३ किलोमिटर पश्चिममा रहेको प्रहरी चौकी ढुङखर्कबाट प्रहरी नायब निरीक्षक हरिशरण बस्नेतको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया (शव मुचुल्का) का लागि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक धीरजकुमार पटेलको कमाण्डमा सोको सहितको विशेष टोली खटिएको थियो।
आवश्यक प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि जेठ १३ गते बेलुका ५:१५ बजे धुलिखेल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
जेठ १४, २०८३ बिहीबार १०:२५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।