सन् १९९६ को विमान दुर्घटना प्रकरण: अमेरिकाद्वारा क्युबाली नेता राउल कास्त्रोमाथि हत्याको अभियोग

सन् १९९६ को विमान दुर्घटना प्रकरण: अमेरिकाद्वारा क्युबाली नेता राउल कास्त्रोमाथि हत्याको अभियोग

एजेन्सी : अमेरिकाले क्युबाका पूर्व नेता राउल कास्त्रोमाथि सन् १९९६ मा दुईवटा विमान खसालेको र अमेरिकी नागरिकहरूको हत्याको षड्यन्त्र रचेको भन्दै गम्भीर अभियोग लगाएको छ।

अमेरिकी न्याय विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, ९४ वर्षीय कास्त्रो र अन्य पाँच जनाले 'ब्रदर्स टु द रेस्क्यु' नामक क्युबाली-अमेरिकी संगठनका दुईवटा विमान खसाल्न मुख्य भूमिका खेलेका थिए।

उक्त घटनामा चार जनाको मृत्यु भएको थियो, जसमा तीन जना अमेरिकी नागरिक थिए। विमान खसालिएको समयमा कास्त्रो क्युबाली सेनाका प्रमुख थिए।

मियामीको फ्रीडम टावरमा बोल्दै अमेरिकी कार्यवाहक अटर्नी जनरल टोड ब्लांशले भने, “राउल कास्त्रोमाथि विमान नष्ट गरेको र चार जनाको हत्या गरेको अभियोग लगाइनेछ। अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरूलाई कहिल्यै बिर्सने छैनन्।”

यस घटनाको अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भएको थियो। यदि अदालतबाट यी आरोपहरू पुष्टि भएमा कास्त्रोलाई आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान छ।

क्युबाका वर्तमान राष्ट्रपति मिगेल दिएस-कनेलले भने यी आरोपहरूलाई ‘राजनीतिक चाल’को संज्ञा दिएका छन्। उनले यसको कुनै कानुनी आधार नभएको दाबी गर्दै अमेरिकाले क्युबाको कम्युनिस्ट सरकारमाथि अनावश्यक दबाब बढाउन खोजेको बताएका छन्।

यो मामिला यस्तो समयमा अगाडि आएको छ, जब अमेरिकाले क्युबाको राजनीतिक र आर्थिक प्रणालीमा सुधार ल्याउनका लागि कडा दबाब दिइरहेको छ।

जेठ ७, २०८३ बिहीबार ०८:५०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।