मध्यपूर्वमा बढ्दो तनाव, ट्रम्पको धम्कीकै बिच खाडीमा ड्रोन हमला

मध्यपूर्वमा बढ्दो तनाव, ट्रम्पको धम्कीकै बिच खाडीमा ड्रोन हमला

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्ति सम्झौताका लागि समय सकिँदै गएको र छिटो निर्णय नगरे केही बाँकी नरहने चेतावनी दिएका छन्। 

अमेरिकासँग सम्झौता गर्न ढिलाइ गरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी आएकै समयमा साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा ड्रोन आक्रमण भएका छन्।

साउदी अरबले आफ्नो क्षेत्रमा आएका तीनवटा ड्रोनहरूलाई बीचैमा नष्ट गरेको जनाएको छ। उता, संयुक्त अरब इमिरेट्सको बराकाह आणविक ऊर्जा केन्द्र नजिकै भएको ड्रोन आक्रमणले त्यहाँको विद्युतीय जेनेरेटरमा आगलागी भएको जनाएको छ। आक्रमण कहाँबाट भएको भन्ने चाहिँ खुलिनसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

अधिकारीहरूले यसबाट आणविक केन्द्र सुरक्षित रहेको र सञ्चालनमा कुनै असर नपरेको बताएका छन्।

अमेरिका र इरानबीचको शान्ति वार्ता हाल पूर्ण रूपमा ठप्प छ। इरानका उच्च अधिकारी मोहसेन रेजाईले अमेरिकालाई इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउन चेतावनी दिँदै भनेका छन्, "ओमानको खाडी अमेरिकी सेनाको चिहान बन्नु अघि नै नाकाबन्दी हटाउ।" इरानले यो नाकाबन्दीलाई युद्धकै रूप भएको र यसको प्रतिकार गर्ने आफ्नो अधिकार रहेको बताएको छ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार इजरायली सेनाले इरानको ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी नयाँ आक्रमणको तयारी गरिरहेको छ। 

युद्धविराम लागू भएको पाँच साताभन्दा बढी समय बितिसक्दा पनि अमेरिका र इरानबीच सहमति हुन सकेको छैन।

न्युयोर्क टाइम्सले इजरायलले इराकको पश्चिमी मरुभूमिमा दुईवटा गोप्य सैन्य अड्डाहरू सञ्चालन गरिरहेको दाबी गरेको छ। यसैबीच, लेबनानमा युद्धविरामको चर्चा भए तापनि इजरायली बमबारी जारी छ, जसले गर्दा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र ठूलो मानवीय संकट उत्पन्न भएको छ।

लेबनान र इजराइलबीच ४५ दिनका लागि युद्धविराम थपिए पनि छिटफुट भिडन्त भने रोकिएको छैन।

जेठ ४, २०८३ सोमबार १२:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।