सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुरले गगनलाई सोधे : शेरबहादुर देउवाकोको हैसियत के हो ?
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवारको टिकट नदिनुका कारण सोधे। कांग्रेसको जरा अभियान अन्तर्गत शनिवार धनगढीमा आयोजित कार्यक्रममा उनले देउवाको आत्मसम्मानबारे पार्टीको धारणा समेत मागे।
उनले भदौ २४ को जेनजी आन्दोलनमा देउवा दम्पतीमाथि भएको कुटपिट, त्यसपछिको विशेष महाधिवेशन र प्रतिनिधि सभाको उम्मेदवारको टिकट नदिएको लगायतका पक्षबारे वर्तमान नेतृत्वले जवाफ दिनुपर्ने बताए।
‘आज सभापति शेरबहादुर देउवाको स्थान, हैसियत र सम्मान के हो ? २३ र २४ गतेको शेरबहादुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक हुन् ?" भने।
उनले गगन थापा सिङ्गो नेपाली कांग्रेसको सभापति हुनुपर्छ भन्नेमा आफू प्रस्ट रहेको र बलियो कांग्रेसको सभापति हुनुपर्ने भन्दै उनले वर्तमान कार्यसमितिमा पनि भाइरसहरू रहेको भन्दै थापालाई सचेत हुन भने।
उनले कांग्रेसलाई नयाँ अनि पुरानो दुवै पुस्ताको पार्टी बनाउनु पर्ने भन्दै निर्वाचनको समीक्षा गर्दा पार्टीका नेताहरू ५ हजारदेखि २० हजारसम्मको मतान्तरले कसरी हारे भन्ने पक्षमा ध्यान दिनुपर्ने बताएका थिए।
थापा आउनु अगाडि प्रदेशमा सरकार बदल्ने चर्चा सुरु भएको भन्दै आफू शारीरिक र मानसिक दुवै रूपमा प्रतिस्पर्धाका लागि तयार रहेको बताए। उनले पार्टीकै नेताहरूलाई गैर राजनीतिक व्यवहार नगर्न आग्रह गरे। उनले समानुपातिक सांसदहरूलाई फिर्ता गराएर पनि सरकार बदल्ने भनेर हल्लाहरू भएको भन्दै यस्ता भ्रमित कुराहरू नगर्न आग्रह गरेका थिए।
वैशाख २६, २०८३ शनिबार १६:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।