रङ्गशालामा भेटिएकी तीन महिनाकी सुत्केरी बबितालाई श्रीमान् कुर्दाकुर्दै प्रहरीले एक्लै गाडीमा राखेर पठायो
काठमाडौं : बबिता तामाङ, हातमा काखे छोरी र साथमा छोरा बोकेर रङ्गशालामा सुकुमबासीको नाम दर्ता गर्ने लाइनमा थिइन्। उनको घरमा श्रीमान् र दुई बच्चा गरी ४ जनाको परिवार रहेछ। उनी दुई सन्तान लिएर रङ्गशालामा आफू भूमिहीन भएको भन्दै नाम दर्ता गर्न आएकी थिइन्।
सरकारले नदी किनाराको सुकुमबासी बस्ती हटाउने निर्णय गरेसँगै उनी बस्दै आएको बल्खुमा हल्लाखल्ला नभएको होइन। तर उनीहरूले यती चाँडै बालेन शाहको फर्मान मान्दै प्रहरी डोजर लिएर आउलान् भन्ने सोचेनन्।
३ महिने सुत्केरी श्रीमती र छोरी छाडेर उनका श्रीमान् शुक्रवार मजदुरी गर्न निस्किए। यता उनीहरूको उठिबास लाग्यो।
“सानो छाप्रो थियो। गत साल पनि पानीले छाप्रो भत्काएको थियो। अहिले त सप्पै भत्कायो। अब त बस्न खान गाह्रो होला जस्तो छ।” उनले उकेरासँग भनिन्।
उनी बल्खुबाट नाम दर्ता गर्न रंगशाला आएकी थिइन्। तर कुनै कागजपत्र साथमा थिएन। दर्ता गर्न चाहिने परिचय खुल्ने कागजपत्र पनि भत्किएको टहरामै पुरिएको बताइन् उनले।
बिहान सातै बजे ‘सरकारी दस्ता’ ले उनीहरूको झुपडी उजाडिदियो। कुनै टहराको कुनै सामान निकाल्नै पाइनछन्। लाइनमा देखेपछि एक प्रहरीले नाम दर्ता गर्न परिचय खुल्ने प्रमाणपत्र पछि ल्याउनु भन्दै उनलाई गाडीमा हालेर खरिबोट पठाइदियो।
उनले खोज्दै श्रीमान् यतै आउँछन् कि भन्दै थिइन् तर सुरक्षाकर्मीले पर्खिएन। सुत्केरी र काखे बालकलाई सिधै गाडीमा हालेर खरिबोट पुर्याउँन रङ्गशालाबाट गाडी हुइँक्यायो।
बबिता पनि श्रीमान्सँगै मजदुरी गर्दै आएकी थिइन्। छोरी जन्मिएपछि भने उनी मजदुरीमा जान सकिनन्। कमाउने श्रीमान् मात्र भए। श्रीमानको कमाइले खान पुग्ने अनि टहराका कारण आश्रय पाएको बताउने उनी अब कता जाने अलमलमा देखिएकी थिइन्।
यति दुख दिँदा पनि सरकारसँग भरोसा उठिसकेको छैन उनको। अझै बस्ने बास देलान् कि भन्ने आस भने रहेछ। बस चढ्दाचढ्दै उनले उकेरासँग भनिन् “छाप्रो भत्काएका छन् हेरौँ कहीँ बस्ने बास देलान् कि।”
सम्बन्धित समाचार
वैशाख १८, २०८३ शुक्रबार २२:००:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।