हलमा १२ वटा फिल्म : शुक्रबार प्रदर्शनमा आएका तीन नेपाली फिल्मलाई दर्शकको खडेरी
काठमाडौं : शुक्रबार अर्थात् आजबाट तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन्। अघिल्लो साता नै प्रदर्शन हुने फिल्म ‘लालीबजार’ मुद्दा मामिलाका कारण रोकिदा वैशाख २५ गते प्रदर्शन भएका ‘मालती मंगले’ र ‘गुरुआमा’सँग जुध्न आइपुग्यो।
उच्च अदालत पाटनको फिल्म प्रदर्शनका लागि आदेश दिएपछि स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’ प्रदर्शनमा आयो। यो फिल्मले १२० शोज पाउँदा फिल्म ‘मालती मंगले’ले १०३ शोज पाएको छ भने मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्म‘गुरुआमा’ले ७१ शोजसहित प्रदर्शनमा छ।
बिहान देखि यी तिनै फिल्मले दर्शकलाई तताउन सेकको छैन। स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’मा बादी समुदायमा आधारित फिल्म हो। यस थापाको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा स्वस्तिमा अलवा रवीन्द्र सिंह बानियाँ, मुकुन्द्र श्रेष्ठ, विशाल सापकोटा लगायतले अभिनय गरेका छन्। यस फिल्मको निर्माता अभिनेता रवीन्द्र सिंह, म्याक्स खत्री हुन्।
यता गायक रामकृष्ण ढकालको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, सरिता गिरी लगायतले अभिनय गरेका छन्। यस फिल्मलाई प्रकु पाण्डेले निर्देशन गरेका हुन्। यो फिल्म पनि विवादमा परेका कारण बहिस्कार अभियानमा पिसिएको छ।
रामकृष्ण ढकालले एक टेलिभिजन शोमा जेनजी आन्दोलनको बेला सहकारी ठगको आरोपमा नख्खु जेलमा बसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा हालेर भगाएको बताएपछि उनलाई सामाजिक प्रयोगकर्ताले खरानी ग्याङको आरोप लगाएका छन्। सोही कारण पनि यो फिल्मले दर्शक बटुल्न सकस छ।
यता ‘लाली बजार’ र ‘मालती मंगले’ले प्रमोसनमा व्यापक रूपमा लागेको भएर पनि दर्शक बटुल्ल सकस परिरहेको समयमा मिथिला शर्मा अभिनीत फिल्म ‘गुरुआमा’चुपचाप हलमा लागेको छ। दुई वटा फिल्मको तुलनामा कम बजेटमा निर्माण भएको यो फिल्मको दर्शक सोचे अनुसारको छैन। डिजिटल वालेट खल्ती एपमा तीन वटै फिल्मका दर्शक छैनन्।
फिल्म ‘गुरुआमा’लाई प्रेम सोनी सुनारले लगानी तथा निर्देशन गरेका हुन भने कलाकारमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु र सुस्मा थापाको अभिनय छ। साथै निर्देशक आफैले पनि अभिनय गरेका छन्। शुक्रबार दर्शक बटुल्न नसकेको तीन नेपाली फिल्मलाई भोली र पर्सी बिदा रहेकाले उल्लेखनीय रूपमा तान्न सक्छन् कि भन्ने अनुमान गर्न सकिन्छ। किनभने नेपालमा शुक्रबार हाफ छुट्टी छैन भने शनिबार र आइतबारको बिदाले दर्शक हलमा जान्छन् भन्ने बुझाई छ।
वैशाख ११ गतेबाट भने प्रदर्शनरत फिल्म ‘परालको आगो’को शो घटे पनि दर्शकको एभरेज उस्तै रहेको छ। चार करोड नजिकको व्यापार गरेको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। यस फिल्ममा प्रकाश सपुत, सुहाना थापा,सौगात मल्लका अलवा सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्मलाई पुराना फिल्म निर्माता सुशील पोखरेलले लगानी गरेका हुन्।
तीन नेपाली फिल्मसँगै बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’पनि प्रदर्शनमा आएका छन्। हलमा अहिले नेपाली र विदेशी गरी एक दर्जन फिल्म प्रदर्शन भइरहेका छन्। नेपाली दर्शकका लागि १२ वटा फिल्म रोजिछानी हेर्न सक्नेछन्।
वैशाख २५, २०८३ शुक्रबार १७:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।