दीपक-दीपा फिल्म छायांकनमा व्यस्त हुँदा 'माग्ने बुढा' अमेरिकामा, 'छ माया छपक्कै २' मा कसले भर्ला रिक्तता ?

दीपक-दीपा फिल्म छायांकनमा व्यस्त हुँदा 'माग्ने बुढा' अमेरिकामा, 'छ माया छपक्कै २' मा कसले भर्ला रिक्तता ?

काठमाडौं : नेपाली फिल्म उद्योगमा एक दशकमा उच्च व्यावसायिक सफलता हासिल गरेको समूह हो- छक्का पञ्जा। यस अवधिमा छक्का पञ्जा समूहबाट धेरै कलाकारले दीपकराज गिरी र दीपाश्री निरौलाको साथ छोडे। तर, ‘वडा नम्बर ६’ देखि अहिलेसम्म निरन्तर साथ दिने कलाकार हुन्, केदार घिमिरे (माग्ने बुढा)।

दीपक-दीपासँगको समूहमा रहँदा उनी फिल्मको निर्माता मात्र नभई मुनाफामा हिस्सेदार समेत थिए। तर, अहिले दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’मा भने उनी देखिएका छैनन्। 

बुधबार गागलफेदीमा आयोजित फिल्मको शुभ मुहूर्तका तस्बिरहरूमा उनको उपस्थिति थिएन। हाल अमेरिका भ्रमणमा रहेका घिमिरे सामाजिक सञ्जालमा विभिन्न सामग्रीहरू प्रस्तुत गरिरहेका छन्। कतिपय स्थानमा उनी काममा व्यस्त रहेको जस्तो पनि देखिन्छन्। उनी स्थायी बसोबास (ग्रिन कार्ड) को प्रक्रियाका लागि अमेरिका गएको चर्चा पनि छ।

एक दशकको संघर्षमा घिमिरेले नेपालमा रहँदा राम्रो आम्दानी र ख्याति कमाए। उनले यहाँ घर र व्यवसायमा लगानी समेत गरे। तर, हाल उनी अमेरिकामा रहेकाले विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। 

बेलाबेलामा उनले आफ्ना पूर्व सहकर्मीहरू सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सँग मिलेर भिडियो सामग्रीहरू बनाइरहेका छन्। ललितपुरमा घर र ए वान क्याफेका सञ्चालक समेत रहेका घिमिरे यसपटक दीपक-दीपाको समूहमा नरहने संकेत देखिएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा दीपक-दीपाले बिहीबार शुभ मुहूर्त गर्दै फिल्म ‘छ माया छपक्कै २’ को छायांकन सुरु गरेका छन्। निर्माण टिमले केही तस्बिरहरू सार्वजनिक गर्दै फिल्मको छायांकन प्रारम्भ भएको जानकारी दिएको छ। सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूबाट फिल्मको काम सुरु भएको देखिन्छ। 

दीपक-दीपाको समूहले औपचारिक तामझामभन्दा पनि कामलाई प्राथमिकता दिने सोच राख्दै आएको छ। सायद त्यसैले होला, फिल्मको शुभ मुहूर्तमा सञ्चारकर्मीहरूको भिडभाड र विशेष चर्चा देखिएन। निर्माण पक्षले फिल्मलाई आगामी दसैंसम्ममा तयार पार्ने लक्ष्य राखेको छ। तर, यो फिल्ममा दर्शकले केदार घिमिरेको अभाव महसुस गर्ने देखिन्छ। 

दीपक, दीपा र केदारको तालमेलले १० वर्ष नेपाली फिल्म बजारमा बलियो पकड जमाएकोमा यस वर्ष त्यो रिक्तता कसले भर्ने हो, चासोको विषय बनेको छ। फिल्ममा निर्मल शर्मा रहने निश्चित भए पनि केकी अधिकारी र सनिशा भट्टराईको जोडी कोसँग बन्ला भन्ने जिज्ञासा उब्जिएको छ।

वैशाख २४, २०८३ बिहीबार २२:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।