निश्चललाई स्वस्तिमाले नै भनिन् 'खरानी ग्याङको लिडर'
काठमाडौं : फिल्म ‘लालीबजार’को प्रिमियर शोका क्रममा अभिनेत्री स्वस्तिमा खड्काले ठट्टा गर्दै निर्देशक निश्चल बस्नेतलाई ‘खरानी ग्याङको लिडर’ भनेकी छन्। बिहीबार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियरमा उनले निश्चललाई बलाउँदा व्यङ्ग्यात्मक रूपमा प्रयोग गरेर फिल्म प्रचारप्रसारको विषयवस्तु बनाइन्।
प्रिमियर सुरु हुनुअघि फोटो खिचाउने क्रममा निश्चल केही टाढा बसेपछि स्वस्तिमाले सामाजिक सञ्जालमा व्याप्त चर्चालाई जोड्दै ‘ओ खरानी ग्याङको लिडर, यता आऊ न’ भनेकी थिइन्। उनले उक्त कुरा आक्रोशको शैलीमा नभई पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति व्यङ्ग्यात्मकको रूपमा प्रयोग गरिन्।
पछिल्लो समय सामाजिक सञ्जालमा निश्चल बस्नेत लगायत केही कलाकारहरूलाई ‘खरानी ग्याङ’को संज्ञा दिँदै आलोचना भइरहेको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका कतिपय गतिविधिमा कलाकारहरूको समर्थन रहेको आरोप लगाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त शब्दावली प्रयोग गर्न थालेका हुन्।
निर्देशक बस्नेतका साथै कलाकार रवीन्द्रसिंह बानियाँ र गायक रामकृष्ण ढकाललाई पनि कतिपयले यही ट्याग भिराएर आलोचना गरिरहेका छन्। यसअघि उच्च अदालत पाटनमा परेको रिटका कारण ‘लालीबजार’को प्रदर्शनमा रोक लगाइएको थियो। उक्त रोकको विरोधमा माइतीघर मण्डलामा आयोजित सभामा निश्चल बस्नेत सहभागी भएपछि उनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको समेत चर्चा चलेको थियो।
अदालतको आदेशपछि फिल्म शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो। सीमित पत्रकार र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न प्रिमियरमा फिल्मका मुख्य कलाकार तथा निर्माताहरूको उपस्थिति थियो। फिल्मको विषयवस्तु र निर्माण पक्षभन्दा पनि स्वस्तिमाले निश्चललाई गरेको सोही टिप्पणी अहिले चर्चाको विषय बनेको छ।
वैशाख २४, २०८३ बिहीबार २१:२१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।