'रङ नम्बर' मा गएको फोन कल विवादमा भएको दुई दाजुभाइको बीभत्स हत्या प्रकरणका तीनै अभियुक्त पुर्पक्षका लागि कारागार चलान

'रङ नम्बर' मा गएको फोन कल विवादमा भएको दुई दाजुभाइको बीभत्स हत्या प्रकरणका तीनै अभियुक्त पुर्पक्षका लागि कारागार चलान

ललितपुर : मिसकलमा आवेग थाम्न नसक्दा  ललितपुरको पाटन कृष्ण मन्दिर अगाडि चैत २५ गते साँझ भएको दुई दाजुभाइको बीभत्स हत्या अभियोगका तीन प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

झापा घर भई हाल ललितपुरको इमाडोल बस्ने ५४ वर्षीय देव कुमार नेम्वाङका छोराहरू– ३२ वर्षीय सुमित नेम्वाङ र २४ वर्षीय सिर्जन नेम्वाङको सो दिन क्रूरतापूर्वक हत्या भएको थियो। जिल्ला अदालत ललितपुरले बुधवार तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

घटनामा चक्कु प्रहार गर्ने मुख्य अभियुक्त ३२ वर्षीय सञ्जीव नेपाली (उर्फ पाण्डे) र उनीसँगै स्कुटरमा घटनास्थल पुगेका २१ वर्षीय गगन सुनार अदालतको आदेशपछि कारागार चलान भएका छन्। मृतक दाजुभाइसँगै घटनास्थल गएका उनकै काका नाता पर्ने २७ वर्षीय विकास लिम्बु नेम्वाङलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

विकास नेम्वाङ दाजुभाइसँगै त्यहाँ गए पनि हत्यामा संलग्न मुख्य अभियुक्त सञ्जीव नेपालीसँग उनको पहिलेदेखि नै चिनजान र बाक्लो उठबस देखिएको र घटनाको दिन पनि फोन संवादमा मध्यस्थता गरेको पाइएपछि उनलाई अपराधको योजनाकार र सहयोगीको रूपमा मुद्दा चलाइएको थियो।

कसरी सुरु भयो विवाद ?

अदालतमा दर्ता भएको अभियोगपत्र र अभियुक्तहरूको बयान अनुसार, घटनाको सुरुवात एउटा 'रङ नम्बर' मा गएको फोन कल र त्यसपछि सिर्जना भएको गालीगलौजबाट भएको थियो।

मृतक सुमित र सिर्जन दाजुभाइबीच घरायसी विवाद भएपछि बुबा देव कुमारले उनीहरूलाई सम्झाइबुझाइ गर्न भन्दै काका विकास लिम्बु नेम्वाङ र उनका साथी कमल खड्कालाई चैत २२ गतेदेखि घरमै राखेका थिए। चैत २५ गते दिउँसो करिब ३ बजेतिर विकासले "केही कुरा सल्लाह गरौँ र घुमेर पनि आउँला" भन्दै दुवै दाजुभाइलाई पाटन कृष्ण मन्दिर लिएर गए।

कृष्ण मन्दिर पछाडि बसेर चिया पिउने क्रममा सुमित नेम्वाङले विकासको मोबाइल मागेर फोन डायल गरे। झुक्किएर अर्कै नम्बरमा फोन गएपछि सुमितले फोनमै अपशब्द प्रयोग गरी गालीगलौज गरे। उक्त फोन कल ललितपुर  बस्ने सञ्जीव नेपाली (पाण्डे) लाई पुगेको थियो। संजिवले आक्रोशित हुँदै "तँ को होस्? कहाँ छस्?" भनी थर्काएपछि विकासले फोन खोसेर आफू सञ्जीवकै पुरानो चिनजानको साथी भएको र झुक्किएर गाली गरेको भन्दै माफी मागे।

तर, रिसले चुर भएका सञ्जीवले "तँलाई नै गाली गरेको हो, हिम्मत छ भने मंगलबजारको कृष्ण मन्दिरमा आइज" भन्दै पटक-पटक फोन गरेर उनीहरूलाई चुनौती दिए।

चक्कु बोकेर घटनास्थल पुगे सञ्जीव

फोनमा विवाद चर्किएपछि सञ्जीव नेपालीले आफ्नो सुरक्षा र आक्रमण गर्ने उद्देश्यका साथ कोठाबाट कम्मरको बेल्टभित्र चक्कु र खल्तीमा फलामको नक लुकाएर स्कुटर चढी मंगलबजार हान्निए। बाटोमा उनले आफ्नै टोलमा मूर्तिको काम गर्ने गगन सुनारलाई भेटे र चिया खाने बहानामा साथै लिएर कृष्ण मन्दिर पुगे।

कृष्ण मन्दिरको सिँढीमा विकास, सुमित र सिर्जन बसिरहेका थिए। सञ्जीव त्यहाँ पुगेपछि सुरुमा सामान्य भनाभन भयो। तर, सिर्जन नेम्वाङले "हामीलाई गाली गर्ने केटा यही हो" भन्दै आक्रोशमा आएर आफूले बोकेको मोटरसाइकलको हेलमेटले सञ्जीवको टाउकोमा प्रहार गरे। लगत्तै सुमितले पनि सञ्जीवमाथि मुक्का प्रहार गर्न थाले।

मैदानमा पछारेर अन्धाधुन्ध चक्कु प्रहार

दुवै पक्षबीच भनाभन र लछारपछार हुँदै जाँदा उनीहरू सिँढीबाट तल भुईँको मैदानमा खसे। सोही क्रममा सञ्जीव नेपालीले कम्मरबाट धारिलो चक्कु निकाले र दुवै दाजुभाइमाथि अन्धाधुन्ध प्रहार गर्न थाले।

सञ्जीवको क्रूर चक्कु प्रहारबाट सुमित र सिर्जनको छाती, पेट र शरीरका विभिन्न अंगमा गम्भीर चोट लाग्यो र उनीहरू रगताम्मे भई भुईँमा ढले। घटनामा गगन सुनारले पनि हेलमेट बोकेर सञ्जीवलाई साथ दिएका थिए भने विकास नेम्वाङ भने सुमितले सञ्जीवको साथी (गगन) लाई समात्न भनेपछि गगनतर्फ दौडिएका थिए। दुवै दाजुभाइ भुईँमा छटपटिन थालेपछि आक्रमणकारीहरू त्यहाँबाट फरार भए।

महिला प्रहरीको साहस र अभियुक्त पक्राउ

चैत २५ गते बेलुकी करिब ७:४० बजे मंगलबजार चोकमा पिकेट ड्युटीमा खटिएकी महिला प्रहरी जवान शाहाना बोहराले कृष्ण मन्दिरमा झगडा भएको र मानिस ढलेको हल्ला सुनिन्। उनले तत्कालै एक व्यक्ति चक्कु बोकेर गल्लीतर्फ भाग्दै गरेको देखेपछि उनलाई लखेट्न थालिन्।

भागिरहेका सञ्जीव सडकको खाल्डोमा लडे। प्रहरी जवान बोहराले लाठीले हिर्काउन खोज्दा सञ्जीवले चक्कु देखाएर उनीमाथि नै जाइलाग्ने प्रयास गरेर पुनः भागे र नजिकैको एउटा क्याफे भित्र छिरे। साहसी प्रहरी जवान बोहराले क्याफेको ढोका बाहिरबाट थुनेर प्रहरी प्रभाग मंगलबजारमा खबर गरिन् र थप प्रहरी टोली बोलाएर सञ्जीवलाई रङ्गेहात नियन्त्रणमा लिन सफल भइन्। सञ्जीवले क्याफेको सिँढीको गमला पछाडि लुकाएको चक्कु र फलामको नक प्रहरीले बरामद गर्यो।

अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरे

गम्भीर घाइते भएका सुमित र सिर्जनलाई प्रहरीले तत्काल उद्धार गरी अल्का अस्पताल र पछि थप उपचारका लागि ग्वार्कोस्थित वि. एन्ड वि. अस्पताल पुर्याएको थियो। तर, अत्यधिक रक्तस्रावका कारण अस्पताल पुर्याउनासाथ चिकित्सकले दुवै दाजुभाइलाई मृत घोषित गरिदिए।

मृतकका बुबा देव कुमार नेम्वाङको जाहेरी र पूरक जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय माग दाबी गर्दै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो।

अदालतको बुधवारको थुनछेक आदेशसँगै घटनाका मुख्य योजनाकार र मतियार मानिएका सञ्जीव नेपाली, गगन सुनार र विकास लिम्बु नेम्वाङलाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कारागार चलान गरिएको छ।

वैशाख २३, २०८३ बुधबार २३:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।