संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन ठूलो प्रपञ्च रचिसकेका छन् : गगन थापा

संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीले आफ्ना मान्छे ल्याउन ठूलो प्रपञ्च रचिसकेका छन् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्नका प्रपञ्च रचेको टिप्पणी गरेका छन्।

बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन्।

"प्रधानन्यायाधीस कसलाई बनाउने भन्ने विषयमा रास्वपाले एउटा सोच बनाएको छ। त्यो प्रधानन्यायाधीस बनाउने पात्र प्रस्तुत गर्छु। सँगै तर्क प्रस्तुत गर्छु र यसको आधारमा संवैधानिक परिषद्बाट निर्णय गराउँछु भनेर होइन्। प्रस्ताव गरेको पात्र पारित गराउँछु भनेर", उनले भने, "कस्तो जालझेल गरिएको छ भने, प्रधानमन्त्री, सभामुख र कानुनमन्त्रीले पारित गरेको कुरा बहुमत हुन्छ भनेर आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने। यो कुरा सोचेर यसरी संवैधानिक परिषद् आफ्नो नियन्त्रण राख्नको लागि यस्तो ठूलो प्रपञ्च रचिसकेको छ।"

सभापति थापाले एमालेका अध्यक्ष ओली सरकारको नेतृत्व हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जालझेलजस्तै प्रधानमन्त्री बालनेले पनि जालझेल गरेको दाबी गरे। उनले विगतमा आफूहरुले रोकेको भन्दै अहिले अध्यादेश नै ल्याएको कारण रोक्न नसकेको समेत बताए। 

"पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौ तर अहिले सकेनौं किनकी त्यो अध्यादेश बनेर गयो। यो भन्दा अगाडि आफ्नो मान्छेलाई ल्याउन प्रधानमन्त्रीले जालझेल गर्नुभयो। अहिलेको प्रधानमन्त्रीले पनि त्यही गर्नुभयो।"

उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेसले संसद्मा प्रश्न उठाउने बताए।

"यो आपत्तिजनक छ। यसमा नेपाली कांग्रेस पार्टीको प्रश्न छ, यसमा असहमति छ यो कुरा हामीले यहाँ राखेका छौं। हाम्रा साथीहरूले यसलाई संसद्मा राख्नुहुन्छ।"

वैशाख २३, २०८३ बुधबार १५:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।