ट्रम्पको चीन भ्रमणअघि इरानी विदेशमन्त्री बेइजिङमा
एजेन्सी : इरानी समाचार एजेन्सी तस्निम र फार्सका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची कूटनीतिक प्रतिनिधिमण्डलसहित बुधबार बिहान चीनको राजधानी बेइजिङ पुगेका छन्।
भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन्। यस भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै हालको क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल हुने इरानी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो।
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र इरानी तेलको प्रमुख खरिदकर्ता हो। अमेरिकी प्रतिबन्धका बाबजुद पनि चीनले इरानबाट निरन्तर तेल खरिद गरिरहेको छ।
इरानी विदेशमन्त्रीको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ किनभने आगामी मे १४ र १५ तारिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्न बेइजिङ जाँदैछन्।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई होर्मुज जलमार्गको नाकाबन्दी हटाउन दबाब दिन चीनलाई आग्रह गरेका छन्।
मंगलबार पत्रकारहरूसँग बोल्दै रुबियोले भने, ‘मलाई विश्वास छ, चीनले इरानलाई भन्नुपर्ने कुरा भन्नेछ। त्यो हो- होर्मुज जलमार्गमा तपाईंहरूले जे गरिरहनुभएको छ, त्यसले तपाईंलाई अन्तर्राष्ट्रिय रूपमै एक्ल्याइरहेको छ।’
वैशाख २३, २०८३ बुधबार १०:२६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।