स्ट्रेट अफ हर्मुजमा अमेरिकाको ‘प्रोजेक्ट फ्रिडम’ अभियान स्थगित

स्ट्रेट अफ हर्मुजमा अमेरिकाको ‘प्रोजेक्ट फ्रिडम’ अभियान स्थगित

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अलपत्र परेका पानीजहाजहरूलाई सुरक्षित निकाल्ने अमेरिकी अभियान ‘प्रोजेक्ट फ्रिडम’ केही समयका लागि स्थगित गरेको घोषणा गरेका छन्।

इरानसँगको सम्झौतामा राम्रो प्रगति भएको र मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानको आग्रहमा यो निर्णय लिइएको ट्रम्पले बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, इरानविरुद्ध गरिएको अमेरिका र इजरायलको सुरुवाती सैन्य आक्रमण ‘अपरेसन एपिक फ्युरी’ आफ्नो लक्ष्य पूरा गर्दै समाप्त भएको छ।

यद्यपि, इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नाकाबन्दी भने कायमै रहनेछ। उता, इरानी सञ्चारमाध्यमले भने ट्रम्पको यो कदमलाई उनको ‘असफलता’ भन्दै उनी पछि हटेको र यो आफ्नो जित भएको दाबी गरेका छन्।

दुई देशबीच युद्धविराम लागू भए पनि उक्त क्षेत्रमा तनाव भने जारी छ।

हालै एउटा व्यापारिक पानीजहाजमाथि अज्ञात आक्रमण भएको बताइएको छ भने युएईले पनि मिसाइल तथा ड्रोन आक्रमणको सामना गरिरहेको बताएको छ। तर, इरानले युएईमाथिको आक्रमण आफूले नगरेको दाबी गरेको छ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो महत्त्वपूर्ण जलमार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमै गम्भीर असर परिरहेको छ। अमेरिकी अधिकारीहरूको भनाइलाई आधार मान्दा अमेरिका तत्काल कुनै ठूलो युद्धमा फर्किन चाहेको छैन र शान्तिपूर्ण सम्झौताको पक्षमा छ।

स्ट्रेट अफ हर्मुज खुलाउने विषयमा राष्ट्रपति ट्रम्पले जापान र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि छलफल गर्ने तयारी गरेका छन्।

वैशाख २३, २०८३ बुधबार ०७:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।