आफ्नै बयानले फसे रामकृष्ण, जेनजी आन्दोलनको बेला नख्खु जेलबाट रविलाई गाडीमा राखेर भगाएको स्वीकार

आफ्नै बयानले फसे रामकृष्ण, जेनजी आन्दोलनको बेला नख्खु जेलबाट रविलाई गाडीमा राखेर भगाएको स्वीकार

काठमाडौं : प्रदर्शनको संघारमा रहेको ‘मालती मंगले’को प्रमोसनमा व्यस्त रहेका गायक तथा निर्माता रामकृष्ण ढकाल एक अन्तरवार्तामा दिएको अभिव्यक्तिका कारण विवादित बनेका छन्।

आफूले निर्माण गरेको फिल्म ‘मालती मंगले’को प्रमोसनका लागि प्रकाश सुवेदीको शो रजतपटमा आफूले जेनजी आन्दोलनको समयमा सहकारी ठगको आरोपमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको भनेका थिए।

सोही कुरा यति बेला सामाजिक सञ्जालमा जताततै भिडियो भाइरल भइरहेको छ। उनी उक्त कार्यक्रममा फिल्मर्की अभिनेत्री वर्षा राउतसहित त्यो शोमा पुगेका थिए। अन्तरवार्ताका क्रममा कार्यक्रम प्रस्तोताले ढकाललाई कुन रूपमा सम्झिनुहुन्छ भन्ने सेग्मेन्टमा गत भदौ २४ गते नख्खु कारागार तोडेर रास्वपाका सभापति लामिछाने दलबल सहित हात हल्लाउँदै निलो गाडीमा हुइँक्याएको भिडियो देखाइन्छ।

भिडियो हेरेपछि ढकालले आफूले नै त्यो गाडी चलाएको बताउँछन्। त्यसपछि उनी घटनाबारे अगाडि बेलिबिस्तार लगाउँछन्। उनी आफू भैँसी पार्टीमा बस्ने भएकोले जेनजी आन्दोलनको क्रममा घुम्दै जाँदा जेल नजिक पुगेको बताउँछन्। जेल बाहिर रेस्टुरेन्टमा रविले हात हल्लाएको अवस्थामा भेटेको र उनलाई पुर्याउनका लागि आफूले जोखिम मोलेर रविलाई घर लगेको सुनाउँछन्। 

त्यो समयमा गायक रामकृष्ण ढकालको गाडीले रवि लामिछानेलाई चढाएर लगेको व्यापक हल्ला चलेको थियो। तर ड्राइभरको कुरा बाहिर आएको थिएन। त्यतिबेला सार्वजनिक भिडियोहरूमा ड्राइभरको अनुहार देखेको थिएन। धेरैले त्यस विषयमा ध्यान पनि दिएका थिएनन्। जुन कुरा गाडीका मालिक आफैले त्यो मुख खोलेपछि यति बेला चर्चा र आलोचना खेप्न परेको छ।

यही २५ गते हलमा लाग्ने उनको फिल्म ‘मालती मंगले’बहिस्कारसम्मको आलोचना सामाजिक सञ्जालमा देखिन थालेका छन्। रजतपटका कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले जेलबाट गाडीमा हात हल्लाउँदै भाग्दै गरेको भिडियो देखाउँदै भन्छन्, "कसरी चिन्नुहुन्छ र कुन रूपमा सम्झिनुहुन्छ?"

भिडियो हेरेपछि ढकाल आफैले आफ्नो कुराहरू खोल्न सुरु गरेका थिए।  उनी हाँस्दै भन्छन्, "राम्रो रूपमा सम्झिन्छु।"

भिडियो देखेपछि वर्षा राउत उत्साहित हुँदै सोध्छिन्, "तपाईंको गाडी हो?"

अनि कार्यक्रम प्रस्तोता भन्छन्, "त्यही भएर राखेको।"

त्यसपछि ढकालले नबोली बस्ने अवस्था नै आएन। उनी आफ्ना कुराहरू खोल्न सुरु गर्छन्। लाग्छ उनी बन्द कोठामा दुई जनालाई आफ्नो अनुभव सुनाइरहेका छन्।

उनी भन्छन्, "त्यही भन्नु पर्ला।" अर्थात् उनले आफ्नै गाडी हो भनेर स्वीकार्छन्। अनि प्रकाश अगाडि थप्छन्, "यो गाडी कसरी त्यहाँ पुग्यो।"

त्यसपछि ढकालले बेलिबिस्तार लगाए। उनले भने, "जेनजी आन्दोलन एकदमै उत्कर्षमा थियो, त्यो दिन। र म भैँसी पार्टीमा बस्छु। जसले गर्दा हामी यताउता हिँडिरहेका थियौं। जुलुसमै थियौं। अनि।"

वर्षाले बिचैमा कुरा काट्छिन्। भन्छिन्, "हजुरले चलाई रहेको हो?" ढकाल भन्छन्, "हो हो, ड्राइभ पनि मैले गर्या हो।"

वर्षाको जिज्ञासाको जवाफ दिएपछि ढकाल फेरि अगाडि भन्छन्, "रवि जी छुट्नुभयो भन्ने कुरा आयो। हामी त्यही तल गयौं। गाडी चल्ने अवस्था थिएन। रविजी चाहिँ नख्खु जेलको पारी पट्टी एउटा रेस्ट्रोमा बसिरहनुभएको थियो। अनि म गए, एकदमै भिडभाड थियो। अनि म गएपछि हग गर्यौ। त्यसपछि एउटा राम्रो दिनमा भेट भयो भन्ने कुरा भयो। दाइ खुसी लाग्यो भने मैले। रविजीले पनि मलाई दाइ भन्नुहुन्छ। म पनि उहाँलाई दाइ भन्छु। उहाँलाई चाहिँ घर जानका लागि अप्ठ्यारो परिरहेको अवस्थाको स्थिति थियो। मलाई थाहा पनि थिएन, काठमाडौंमा यस्तो स्थिति भइरहेको छ भनेर। अलिअलि त हेरिरहेको थिए। त्यसपछि उहाँ गाडी नभएर त्यहाँ बसिरहनुभएको रहेछ। उहाँले गाडी छ भन्नुभयो, मैले छ भने। उहाँको आशिषजी सेक्रोटी इन्चार्ज, ह्वाई नट, गाडी भनेको हाम्रो लागि नै हो। गाडीभन्दा ठूलो हाम्रो जीवन हो। त्यसपछि घरमा आए, गाडी निकाले र त्यो भिडमा नख्खुमा जाँदाखेरि जेनजी भाइहरूको एक्सप्रेस कस्तो थियो भने।"

उनी यतिमै रोकिँदैनन्। आफ्नो गाडीको ड्राइभर आफै भएको सुनाउँछन्। "म त्यति नदेखिएकोले रामकृष्ण ढकालको गाडी प्रयोग भएको छ भन्ने कुरा आको छ, तर मेरो कुरा आएको छैन," उनले भने।

करोडको लगानीमा निर्माण गरेको फिल्म ‘मातली मंगले’ प्रदर्शनको मुखमा ढकाल उक्त कुराको कारण विवादमा परेपछि त्यसको असर फिल्मको व्यापारमा पर्नसक्ने अवस्था देखिन्छ। 

वैशाख २२, २०८३ मंगलबार २१:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।