चितवनमा १७ वर्षीया भान्जीलाई बलात्कार गर्ने मामाविरुद्ध मुद्दा, किशोरी ६ महिनाको गर्भवती
चितवन : चितवनको रत्ननगरमा आफ्नै मामाले १७ वर्षीया भान्जीलाई पटक-पटक बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले २१ वैशाख २०८३ मा चितवन जिल्ला अदालतमा अभियुक्त मामाविरुद्ध ‘हाडनातामा जबर्जस्ती करणी’ को मुद्दा दायर गरेको हो।
अभियोग पत्रअनुसार पीडित किशोरी (३५ टाँडी-४) का बुबा आमा सानैमा बितेका थिए। ३-४ वर्षअघि आमाको मुटुको क्यान्सरबाट मृत्यु भएपछि र बुबाको समेत अत्तोपत्तो नभएपछि उनी धादिङस्थित सानीआमाको घरमा बस्दै आएकी थिइन्।
तर, सानीआमाले 'पढ्नका लागि मामाको घर नै उपयुक्त हुने' भनेर चितवन पठाएपछि उनी रत्ननगर नगरपालिका वडा नं. १५ स्थित मामा (परिवर्तित नाम: नमुना टोल-गा) को डेरामा बस्न थालेकी थिइन्।
कक्षा ८ मा अध्ययनरत ती किशोरीलाई संरक्षक बन्नुपर्ने मामाले नै २०८० सालको पुसदेखि पटक-पटक यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
अभियुक्तले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानमा आफ्नो अपराध स्वीकार गरेका छन्।
श्रीमतीको मृत्युपछि बच्चाहरूको विचल्ली भएको र आफू एक्लो भएको बहाना बनाउँदै उनले मदिरा सेवन गरेर पहिलोपटक २०८० पुस ९ गते राति भान्जीलाई बलात्कार गरेका थिए। त्यसपछि उनले 'यो कुरा कसैलाई भने मारिदिने' धम्की दिँदै पटक-पटक करणी गरेको पीडितको बयानमा उल्लेख छ।
पछिल्लो पटक २०८२ चैत २८ गते बिहान ४ बजे अभियुक्तले पुनः जबर्जस्ती करणी गरेका थिए।
गत २०८२ वैशाख २९ गते दिउँसो अभियुक्तले पुनः शौचालयमा भान्जीलाई जबर्जस्ती गर्न खोज्दा किशोरीले हल्ला गरेकी थिइन्।
त्यसपछि जम्मा भएका छिमेकी र स्थानीयले सोधपुछ गर्दा किशोरीले विगत एक वर्षदेखिको पीडा सार्वजनिक गरेकी थिइन्। सोही दिन अभियुक्तलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको थियो।
भरतपुर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा पीडित किशोरी २३ देखि २४ हप्ताको (करिब ६ महिना) गर्भवती रहेको प्रमाणित भएको छ।
अभियोग पत्रमा अभियुक्तलाई ‘मुलुकी अपराध संहिता, २०७४’का विभिन्न दफाहरूअनुसार हदैसम्मको सजाय माग गरिएको छ।
पीडितको उमेर १८ वर्षभन्दा कम भएको र जबर्जस्ती करणी भएको पुष्टि भएकाले १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ।
यस्तै हाडनाताभित्रको अपराध भएकाले थप कैद र जरिवाना तथा हाडनाता करणीमा दफा २१९ को उपदफा (२) बमोजिम थप सजाय समेत माग गरिएको छ।
यस्तै अभियुक्तबाट ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको अभियोगपत्रमा उल्लेख छ।
वैशाख २२, २०८३ मंगलबार १२:१९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।