जर्मनीको भिडमा कार जोतिँदा २ जनाको मृत्यु, २२ घाइते
लिपजिग : पूर्वी जर्मनीको लिपजिग सहरमा सोमबार दिउँसो भिडभाड भएको ठाउँमा एउटा कार जोतिँदा दुई जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार कार चलाउने ३३ वर्षीय जर्मन नागरिकलाई पक्राउ गरिएको छ। लिपजिगका मेयर बुर्कहार्ड जङ्गले घटना गराउनुको कारण भने अहिलेसम्म खुल्न नसकेको बताएका छन्।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बेलुका करिब ५:३५ बजे सहरको मध्यभागमा रहेको ग्रिमाइसे सडक र बजार क्षेत्रमा कारले मानिसहरूलाई ठक्कर दिएको थियो।
लिपजिगका अग्नि नियन्त्रक प्रमुखका अनुसार घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
ज्यान गुमाउनेहरूमा ६३ वर्षीया महिला र ७७ वर्षीय पुरुष रहेको र उनीहरू दुवै जर्मन नागरिक भएको सरकारी वकिलको कार्यालयले पुष्टि गरेको छ।
लिपजिग पर्ने स्याक्सोनी राज्यका प्रमुख माइकल क्रेट्समरले पक्राउ परेका ती व्यक्ति पहिलेदेखि नै मानसिक रोगबाट ग्रसित रहेको जानकारी दिएका छन्।
प्रहरीले यसलाई ‘एकल व्यक्तिले गराएको हिंस्रक घटना’ भनेको छ। आरोपीविरुद्ध हत्या र हत्या प्रयासको अनुसन्धान भइरहेको छ।
हालसम्मको अनुसन्धानमा यो घटनामा कुनै राजनीतिक वा धार्मिक उद्देश्य जोडिएको नदेखिएको र सर्वसाधारणलाई अब कुनै खतरा नरहेको प्रहरीले स्पष्ट पारेको छ।
प्रत्यक्षदर्शीले के देखे?
घटनाको समयमा सोही सडकको बेन्चमा बसेकी सुसी नामकी एक प्रत्यक्षदर्शीले ठूलो आवाज सुनेको र कार निकै तीव्र गतिमा आएको बताइन्।
उनी र उनकी साथी नजिकैको गहना पसलमा लुकेर ज्यान जोगाएका थिए। पसलबाट बाहिर निस्कँदा उनले मानिसहरू भुइँमा ढलेको देखेकी थिइन्।
अर्का प्रत्यक्षदर्शीका अनुसार कार सडकको किनारामा रोकिएपछि त्यहाँ रहेका सर्वसाधारणले घाइतेहरूलाई प्राथमिक उपचार गरेका थिए।
करिब १५ जना मानिस कारको वरिपरि जम्मा भएर चालकलाई झ्यालबाट बाहिर निकाल्ने प्रयास गरेका थिए। भाग्न खोजिरहेका ती चालकलाई प्रहरीले आएर नियन्त्रणमा लिएको थियो।
जर्मनीमा पछिल्ला केही वर्षयता गाडीले मानिसहरूलाई ठक्कर दिने यस्ता घटनाहरू बढिरहेका छन्।
यसअघि डिसेम्बर २०२४ मा म्याग्डेबर्गको एउटा क्रिसमस बजारमा भएको यस्तै आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।
त्यसैगरी, गत वर्षको फेब्रुअरीमा देशको संघीय चुनाव हुनुभन्दा केही दिन अघि म्युनिखमा भिडमा कार जोतिँदा कम्तीमा ३० जना घाइते भएका थिए।
वैशाख २२, २०८३ मंगलबार ०८:००:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।