भारतीय विधान सभा चुनाव : बङ्गालमा ममताको किल्ला ढल्यो, केरलामा वामपन्थीको; तमिलनाडुमा टिविकेको उदय
एजेन्सी : भारतको पश्चिम बङ्गाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा विगत दुई आज बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो।
भारतीय निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार पश्चिम बङ्गालमा भाजपाले २९४ सिटमध्ये १९५ सिटमा अग्रता लिइरहेको छ भने पश्चिम बङ्गालमा सत्तासीन तृणमूल कांग्रेस (टीएमसी) ले ८७ सिटमा अग्रता लिइरहेको छ।
त्यस्तै, भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) ले दुई सिट, आम जनता उन्नयन पार्टी (अजुप) ले दुई सिटमा अग्रता लिइरहेको छ भने भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले एक सिटमा अग्रता लिइरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन र जेपी नड्डाले पश्चिम बङ्गालमा भाजपाको विजयलाई ऐतिहासिक भनेका छन्। यसलाई जनशक्ति र विकास राजनीतिको विजय भन्दै प्रधानमन्त्री मोदीले राज्यको सपना पूरा गर्ने आश्वासन दिएका छन्।
प्रधानमन्त्री मोदीले पनि पश्चिम बङ्गाल विधान सभा चुनावमा पार्टीको विजयमा खुशी व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “पश्चिम बङ्गालमा कमल फुलेको छ। सन् २०२६ को पश्चिम बङ्गाल विधान सभा चुनाव सधैँ सम्झिइनेछ।”
उनले अगाडी लेखेका छन्, “जनताको शक्तिको जित भएको छ र भाजपाको सुशासनको राजनीतिले जितेको छ। म पश्चिम बंगालका प्रत्येक नागरिकलाई नमन गर्दछु। जनताले भाजपालाई ठूलो जनादेश दिएका छन् र म उनीहरूलाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो पार्टीले पश्चिम बंगालका जनताको सपना र आकांक्षा पूरा गर्न हरसम्भव प्रयास गर्नेछ। हामी समाजका सबै वर्गलाई अवसर र सम्मान सुनिश्चित गर्ने सरकार प्रदान गर्नेछौं।”
उनले पश्चिम बङ्गालमा हासिल गरेको जितको मुख्य श्रेय पार्टीका निष्ठावान मजदुर र तल्लो तहका कार्यकर्ताहरूलाई दिए। पुस्ताौंदेखिको सङ्घर्ष र मेहनतका कारण उपलब्धि सम्भव भएको उनको भनाई थियो।
मोदीले भनेका छन्, “पश्चिम बङ्गालमा भाजपाको रेकर्ड तोड्ने जित असङ्ख्य मजदुरहरूको पुस्तौंदेखि गरेको सङ्घर्ष बिना सम्भव हुने थिएन। म सबैलाई सलाम गर्छु। वर्षौंदेखि उनीहरूले तल्लो तहमा कडा मेहनत गरेका छन्, सबै प्रकारका कठिनाइहरूको सामना गरेका छन् र हाम्रो विकासको एजेन्डाको बारेमा कुरा गरेका छन्। उनीहरू हाम्रो पार्टीको शक्ति हुन्।”
केन्द्रीय गृहमन्त्री अमित शाहले एक्समा जीतप्रति खुसी व्यक्त गर्दै लेखेका छन्, “यो विशाल जनादेश बङ्गालका जनताले भय, तुष्टीकरण र घुसपैठका संरक्षकहरूलाई दिएको उचित जवाफ हो। यो तृणमूलको ‘भय’ माथि प्रधानमन्त्री मोदीप्रतिको ‘विश्वास’ को विजय हो। यो म जस्ता हरेक भाजपा कार्यकर्ताका लागि गर्वको क्षण हो।”
असम
सन् २०२६ को असम विधान सभा चुनावमा भाजपा नेतृत्वको एनडीएले शानदार प्रदर्शन गरेको छ असमको कूल १२६ सदस्यीय सदनमा १०० भन्दा बढी सिटमा अग्रता लिएको छ। यो बहुमतको आँकडाभन्दा निकै धेरै हो। यससँगै हिमन्त बिस्वा सरमाले लगातार दोस्रो पटक मुख्यमन्त्री पदका लागि बलियो पकड बनाए।
परिणामपछि मुख्यमन्त्री सरमाले विजयको चिन्ह देखाएर कार्यकर्ताहरूलाई प्रोत्साहित गरेको र यसलाई जनताको विश्वासको विजयको रूपमा वर्णन गरेका छन्। पार्टी नेताहरूले यसलाई विकास र स्थिरताको राजनीतिमा जनताको छाप भएको टिप्पणी गरेका छन्।
केरला
केरलामा कांग्रेस नेतृत्वको यूडीएफले १४० सदस्यीय विधानसभामा बहुमत अर्थात् १०२ सिट मा विजय हासिल गरेको छ। पछिल्लो चुनावी तथ्याङ्कले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्वमा रहेको सत्तारूढ वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) ले ३५ सिट जितेको छ भने भाजपाले तीन सिट दर्ता गरेको छ। यो फैसलालाई एलडीएफको १० वर्षे कार्यकालको निर्णायक अस्वीकृतिको रूपमा हेरिएको छ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले सोमबार धर्मदाम विधान सभा निर्वाचन क्षेत्रमा ८५ हजार ६१४ मत ल्याएर विजय हासिल गरे। विजयन धर्मादाम निर्वाचन क्षेत्रमा कांग्रेसका अब्दुल रशीद र भाजपाका के रञ्जितसँग प्रतिस्पर्धा गरेका थिए।
तमिलनाडु
तमिलनाडुमा टिविकेले कूल ५९ जीत र ४८ अग्रतासहित १०७ स्थानमा विजयको आधार खडा गरेको छ भने दोस्रोमा द्रमुकले ३० जीत र ४२ अग्रतासहित ७२ सिटमा जीत हासिल गर्ने सम्भावना देखिएको छ। त्यस्तै, २६ जीत र २९ स्थानमा अग्रतासहित अन्नाद्रमुकले ५५ स्थानमा जित हासिल गर्ने देखिएको छ।
पडुचेरी
पडुचरीमा एनडिएले १५ स्थानमा जीत हासिल गरेको छ भने तीन स्थानमा अग्रता लिएको छ। उनी भारतीय राष्ट्रिय काङ्ग्रेसले सन् २०२१ को विधान सभा निर्वाचनको प्राप्त सीटमध्ये थप दुई सिट गुमाउँदै छ स्थानमा विजय प्राप्त गरेको छ। पडुचेरीमा टिकिकेले तीन सिट र अन्यले तीन सिट प्राप्त गरेका छन्।
पश्चिम बङ्गालमा विवादका कारण स्थगित भएका विभिन्न पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधान सभा सिटका सबै २८५ मतदान केन्द्रहरूमा मे २१ मा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
अधिकारीका अनुसार अप्रिल २९ मा फाल्टामा भएको दोस्रो चरणको मतदानमा ‘लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने गम्भीर चुनावी अनियमितता’ का घटनालाई मध्यनजर गर्र्दै यो निर्णय लिइएको बताएको हो।
निर्वाचन आयोगले फाल्टामा सबै मतदान केन्द्र (सहायक मतदान केन्द्रसहित) मा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म पुनः मतदान हुने जनाएको छ। मतदान स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले गर्न सकियोस् भनी निर्वाचनका दिन ‘कडा सुरक्षा व्यवस्था’ गरिने आयोगले जनाएको छ। उक्त निर्वाचन क्षेत्रको मतगणना मे २४ मा हुने उनले बताए।
वैशाख २१, २०८३ सोमबार २१:१४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।