अभिनेत्री बिनै फिल्म ‘आ बाट आमा २’ को शुभ मुहूर्त
काठमाडौं : चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को सोमबार बिहान पाटन बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरियो। तर, हिरोको उपस्थिति रहेको शुभ मुहूर्त कार्यक्रममा हिरोइन भने देखिइनन्। फिल्मको लागि निर्माण पक्षले अहिलेसम्म हिरोइन भेटेको छैन।
फिल्मको मुख्य पात्र मध्ये एक महिला कलाकारमा बिपना थापा अनुबन्ध छन्। उनी भारतमा रहेकाले कार्यक्रममा उपस्थित हुन सकिनन्। अघिल्लो पार्टका अभिनेत्रीद्धय सिम्रन पन्त र उषा उप्रेती रहेका थिए। उनीहरू यो फिल्ममा निरन्तरता पाउँछन् कि पाउँदैनन् भन्ने बारेमा निर्माण पक्षले बोलेको छैन।
अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ बन्न सफल भएकाले निर्देशक पन्तले यसको सिक्वेल निर्माणमा हात हालेका हुन्। अघिल्ला फिल्मका बिपना थापा, पल शाह, प्रदीप रावत, गजित बिष्ट लगायतका कलाकारहरू दोहोरिएका छन्। साथै यस फिल्ममा अभिनेताद्धय आकाश श्रेष्ठ, नरेन खड्का जोडिएका छन्।
अघिल्लो पार्टकै कन्टिन्युटी हो भने सिम्रन र उषाको इन्ट्री हुने सम्भावना बढी देखिन्छ। तर निर्माण पक्षले फिल्मका लागि अभिनेत्रीहरू भने छनोट हुन बाँकी रहेको जानकारी दिएपछि को होला भन्ने कौतुहलता पैदा भएको देखिन्छ।
निर्देशक पन्तले कथा तथा पटकथा रहने यो फिल्ममा आगामी दसैंको फूलपातीबाट प्रदर्शनमा आउने छ। एक महिनाअघि नै यो फिल्मको प्रदर्शन मिति निर्माण टिमले घोषणा गरिसकेको छ। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।
यो फिल्मसँगै अनमोल केसीको ‘बाटुलो जुन’,दीपकराज गिरी र दीपाश्री निरौला टिमको ‘छ माया छपक्कै २’, बिराज भट्टको ‘१२ गाउँ २’ पुष्प खड्काको ‘महाराजधिराज’, अशोक शर्माको‘डवल त्रिपल’र ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’प्रदर्शनमा आउने तयारीमा छन्। यो वर्षको दसैंमा आधा दर्जन फिल्मले हल कब्जा गर्नेछन्।
वैशाख २१, २०८३ सोमबार १८:५४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।