बक्स अफिसमा 'परालको आगो'को राप, सेलायो 'राम नाम सत्य'; ‘पहाड’को हरिबिजोग
काठमाडौं : नेपाली फिल्ममा केवल स्टारडम र एक्सनले मात्र सफलता दिलाउँदैन, बरु बलियो कथावस्तु चाहिने उदाहरण पछिल्ला केही फिल्मले देखाइ सकेका छन्। गत वर्ष प्रदर्शित ‘ऊनको स्वीटर’ र ‘परान’ जस्ता फिल्मले सुरुवाती समयमा कमजोर ओपनिङ गरे पनि दर्शकको सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) का कारण सुखद व्यापार गर्न सफल भए।
फिल्ममा न स्टारडम बोकेका कलाकार थिए, न आक्रामक प्रचार। तर, दर्शकले फिल्मलाई मन पराएको बक्स अफिस रिपोर्टले पुष्टि गर्यो। यस वर्ष नयाँ फिल्म मेकरका लागि लाभदायी बन्न सकेको देखिँदैन। यद्यपि प्रदर्शनमा आएका फिल्महरूको व्यापारिक नतिजा भने मिश्रित देखिएको छ।
फिल्म विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही फिल्मले लगानी उठाउन संघर्ष गरिरहेका छन् भने केहीको व्यापार सन्तोषजनक देखिएको छ।
'राम नाम सत्य'को व्यापारिक अवस्था
अभिनेता बिराज भट्टको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’ले प्रदर्शनको २३ दिनसम्म साढे तीन करोड पार गर्न सकेको छैन। बोर्डको विवरण अनुसार फिल्मको हालसम्म १ लाख २० हजार ९२६ वटा टिकट बिक्री हुँदा ३ करोड ३९ लाख ७३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण भएको फिल्मले लगानी सुरक्षित गर्न बक्स अफिसबाट झण्डै ६ करोडभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ। प्रदर्शनको तीन साता बितिसक्दा पनि साँढे तीन करोड पुग्न नसक्नुले निर्माताको लगानी सुरक्षित गर्न नसक्ने देखिन्छ। यस पटक दर्शकमाझ बिराजको जादु चलेको देखिएन।
'पहाड'को कमजोर उपस्थिति
निर्देशक तुलसी घिमिरेले ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘पहाड’को व्यापारिक नतिजा भने निकै कमजोर देखिएको छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १९ दिनमा ६३ लाख ९३ हजार रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। यस अवधिमा कुल २० हजार २६५ जना दर्शकले मात्र फिल्म हेरेका छन्। निर्देशक घिमिरेको अघिल्लो फिल्म ‘दर्पणछायाँ २’ जस्तै यो फिल्मले पनि बक्स अफिसमा असफल साबित भयो।
'पराल'को सुखद सुरुवात
यी दुई फिल्मको तुलनामा वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’को व्यापार सुखद देखिएको छ। प्रदर्शनको ९ दिनमा फिल्मले देशभरबाट ३ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सोही अवधिसम्म यसका १ लाख १० हजार ४४२ वटा टिकट बिक्री भएका छन्।
निर्माता सुशील पोखरेलले २ करोडको लगानी उठिसकेको दाबी गरे पनि बक्स अफिसको बाँडफाँड र कर कट्टीको हिसाबले लगानी सुरक्षित गर्न अझै केही समय व्यापार स्थिर रहनुपर्ने देखिन्छ।
कुन फिल्ममा कुन कलाकार
माइकल चन्दको निर्देशनमा निर्माण भएको फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आएको हो। सस्पेन्स, प्रेम र एक्सनले भरिएको यस फिल्ममा बिराज भट्टका अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की, सुपुष्पा भट्ट, दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्तकुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जिसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत खुशी कार्कीले डेब्यु गरेकी हुन्। उपेन्द्र शाही र श्वेता विमलीको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन्।
निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, पञ्चमी घिमिरे, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुानाथ योगी लगायतको अभिनय रहेको छ। यसै फिल्मबाट पञ्चमीले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। पुराना छायाकार प्रमोद प्रधानले छायाङ्कन गरेको यो फिल्ममा लगानी ओजस्वी केसीको छ।
यता वैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पराल’मा सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। यो फिल्मलाई लक्षण सुनारले निर्देशन गरेका हुन्। यो फिल्मको कथा तथा प्रस्तुतिलाई दर्शकले मन पराएता पनि सोचे अनुसार हलमा पुगेको छैनन्।
वैशाख २१, २०८३ सोमबार १६:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।