स्ट्रेट अफ हर्मुजमा ट्रम्पको हस्तक्षेप भए युद्धविराम उल्लङ्घन मानिने इरानको चेतावनी

स्ट्रेट अफ हर्मुजमा ट्रम्पको हस्तक्षेप भए युद्धविराम उल्लङ्घन मानिने इरानको चेतावनी

एजेन्सी : इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविरामको गम्भीर उल्लङ्घन मानिने  चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित 'प्रोजेक्ट फ्रिडम' योजनाप्रति कडा आपत्ति जनाएका हुन्। उनले डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको प्रोजेक्ट फ्रिडम योजनाप्रति आपत्ति जनाउँदै हर्मुज जलमार्ग र फारसको खाडीको व्यवस्थापन अमेरिकाले गर्न नसक्ने बताएका छन्। 

‘अमेरिकाले नयाँ समुद्री व्यवस्थामा हस्तक्षेप गरे त्यसलाई युद्धविराम उल्लंघन मानिनेछ,’ उनले उल्लेख गरेका छन्।

यसअघि, ट्रम्पले ट्रम्पले सोमबार बिहानदेखि लागू हुने गरी हर्मुज स्ट्रेटमा रोकिएका व्यापारिक जहाजहरूलाई अमेरिकी नौसेनामार्फत सुरक्षित रूपमा बाहिर निकाल्न 'प्रोजेक्ट फ्रिडम' सुरु गर्ने घोषणा गरेका थिए।

ट्रम्पले यस कदमलाई 'मानवीय सहायता' को संज्ञा दिए पनि इरानले भने यसलाई आफ्नो समुद्री सार्वभौमिकतामाथिको हस्तक्षेप र जारी युद्धविरामको उल्लङ्घन भएको ठहर गरेको छ।

ट्रम्पले विश्वका विभिन्न देशले आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा सञ्चालन गर्न अमेरिकासँग सहयोग मागेको दाबी गर्दै यस मानवीय प्रयासमा कुनै पनि प्रकारको अवरोध सिर्जना गरिए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।

अमेरिकी अडानको कडा प्रतिवाद गर्दै इरानले भने यस्ता गतिविधिले मध्यपूर्वमा फेरि द्वन्द्व चर्कने चेतावनी दिएको छ।

वैशाख २१, २०८३ सोमबार ११:०२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।