एटलान्टिक महासागरमा रहेको क्रुजमा ‘हन्टाभाइरस’ : तीन जनाको मृत्यु, ५ जना शंकास्पद

एटलान्टिक महासागरमा रहेको क्रुजमा ‘हन्टाभाइरस’ : तीन जनाको मृत्यु, ५ जना शंकास्पद

एजेन्सी : एटलान्टिक महासागरमा यात्रा गरिरहेको ‘एमभी होन्डियस’ नामक क्रुज पानीजहाजमा शंकास्पद ‘हन्टाभाइरस’को संक्रमण फैलिँदा तीन जना यात्रुको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले घटनाको पुष्टि गर्दै थप ५ जना शंकास्पद बिरामीको अनुसन्धान भइरहेको जनाएको छ। डब्लुएचओका अनुसार हालसम्म एक जनामा भाइरसको पुष्टि भइसकेको छ।

संक्रमित ६९ वर्षीय बेलायती नागरिकको दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ता फोस्टर मोहालेका अनुसार मृत्यु हुनेमध्ये दुई जना नेदरल्यान्ड्सका दम्पती हुन्। अर्जेन्टिनाको उशुआयाबाट यात्रा सुरु गरेको केही समयपछि ७० वर्षीय डच पुरुषमा ज्वरो आउने, टाउको र पेट दुख्ने तथा पखाला लाग्ने लक्षण देखिएको थियो।

सेन्ट हेलेना टापु (बेलायती भू-भाग) पुग्नेबित्तिकै उनको मृत्यु भएको थियो। उनको शव हाल सेन्ट हेलेनामै छ र नेदरल्यान्ड्स पठाउने तयारी भइरहेको छ।

श्रीमानको मृत्युपछि उनकी ६९ वर्षीया श्रीमती पनि जहाजमै बिरामी परेकी थिइन्। उनलाई उद्धार गरी दक्षिण अफ्रिका लगिएको थियो। तर, स्वदेश फर्किने उडानको पर्खाइमा रहेकै बेला उनी ढलेकी थिइन् र जोहानेसबर्गको केम्पटन पार्क क्षेत्रको अस्पतालमा उनको मृत्यु भयो।

एएफपी समाचार एजेन्सीका अनुसार मृत्यु भएका तेस्रो व्यक्तिको शव अझै जहाजमै राखिएको छ।

करिब १५० पर्यटक बोकेर मार्च २० मा अर्जेन्टिनाबाट हिँडेको यो क्रुज मे ४ मा अफ्रिकी राष्ट्र केप भर्डे पुग्ने तालिका थियो। यो जहाजले अन्टार्कटिका, फकल्याण्ड, साउथ जर्जिया र सेन्ट हेलेनालगायतका स्थानमा विश्राम लिएको थियो।

जहाजको सञ्चालक ‘ओशनवाइड एक्सपेडिसन्स’का अनुसार हाल जहाज केप भर्डेको तटमा छ। तर, त्यहाँका स्वास्थ्य अधिकारीहरूले जहाजमा रहेका लक्षण देखिएका अन्य दुई बिरामीलाई उद्धार गरी अस्पताल लैजान अझै अनुमति दिएका छैनन्।

नेदरल्यान्ड्स सरकारले जहाजमा रहेको शव र अन्य बिरामीलाई स्वदेश फर्काउन केप भर्डेको प्रशासनसँग समन्वय गरिरहेको कम्पनीले जनाएको छ।

डब्लुएचओले भाइरसको ‘सिक्वेन्सिङ’ भइरहेको र बाँकी यात्रुहरूको स्वास्थ्य जोखिम मूल्यांकन गर्न समन्वय गरिरहेको जनाएको छ। बेलायतको विदेश मन्त्रालयले पनि अवस्थाको नजिकबाट निगरानी गरिरहेको बताएको छ।

के हो हन्टाभाइरस ?
डब्लुएचओका अनुसार हन्टाभाइरस मुख्यतया वातावरणीय जोखिम, विशेषगरी संक्रमित मुसाको पिसाब वा दिसाको सम्पर्कबाट सर्ने गर्छ। यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्तै दुर्लभ मानिन्छ। यसको संक्रमणले श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग निम्त्याउँछ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार हन्टाभाइरस पल्मोनरी सिन्ड्रोमको मृत्युदर करिब ३८ प्रतिशत हुन्छ र यसको कुनै विशिष्ट उपचार छैन।

स्मरण रहोस्, सन् २०२५ को मार्च महिनामा ओस्कार विजेता हलिउड अभिनेता जीन ह्याकम्यानकी श्रीमती बेट्सी अराकावाको पनि यही हन्टाभाइरसको संक्रमणका कारण मृत्यु भएको थियो। श्रीमतीको मृत्यु भएको करिब एक सातापछि अभिनेता ह्याकम्यानको पनि प्राकृतिक कारणले निधन भएको थियो।

वैशाख २१, २०८३ सोमबार ०७:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।